बडादसैंको नवौं दिन आज महानवमी, सिद्धिदात्रीको पूजा गरिँदै

आज बडादसैंको नवौं दिन महानवमी पर्व दुर्गाभवानीको पूजा–आराधना गरी मनाइँदै छ । आज नवदुर्गामध्ये सिद्धिदात्रीको पूजा गरिन्छ ।

आज घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा शक्तिपीठहरुमा चढाइन्छ ।

दसैंघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना गरी दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेहरुले भने आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलको बलि दिने गर्छन् । अधिकांश स्थानमा महाअष्टमीका दिन बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने प्रचलन समेत छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निसानपूजा पनि गरिन्छ भने हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जंगी निसाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

हनुमानढोका दरबार परिसरमा रहेको तलेजु भवानीको मन्दिर वर्षको एकपटक आजकै दिन मात्रै खुल्छ ।

आश्विन शुक्लपक्षको नवमीका दिनबाट नवरात्रको समापन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?