बडादसैंको आठौं दिन आज, महाअष्टमी पर्व मनाइँदै

बडादसैंको आठौं दिन आज देशभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ ।

आजको दिन दसैंघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने चलन छ ।

आज दसैंघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नुका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गर्ने प्रचलन छ ।

पशुबली नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् । हनुमानढोकाको दसैंघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।

काठमाडौं उपत्यकाभित्रका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराही तथा उपत्यकाबाहिरका काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतका मन्दिरहरूमा शक्तिरूपा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ ।

बडादसैंको आठौं दिन माता पार्वतीको रुप मानिने महागौरीको विशेष पूजा गरिन्छ । पौणाणिक कथाअनुसार उनले भगवान शिवलाई पतिका रुपमा पाउन कठोर तपस्या गरेकी थिइन् ।

त्यसकारण उनको रंग धेरै कालो भएको र भगवान शिवले गंगाजल छर्किएर फेरि गोरो बनाएकाले उनलाई महागौरी भनिएको शास्त्रहरुमा उल्लेख छ । सांसारिक रुपमा महागौरीको स्वरुप अत्याधिक उज्यालो, कोमल, श्वेत वर्ण र श्वेत वस्त्रधारी हुन्छ । गुलाबी रंगको कपडा लगाएर माता महागौरीको पूजा गर्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?