
इन्डोनेसियामा फुटबलका क्रममा भएको हिंसामा परी १२९ जनाको मृत्यु भएको छ ।
हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि भागदौड हुँदा ठूलो संख्यामा मानिसको मृत्यु भएको हो ।
अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको खेलपछि भएको भागदौडमा करिब १८० जना घाइते भएका छन् ।
खेल सकिएको सिट्ठी बजेपछि फुटबल समर्थकहरू मैदानमा प्रवेश गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
मृत्यु हुनेमध्ये २ जना प्रहरी समेत रहेको पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले बताए । मृतकमध्ये ३४ जनाको रंगशालाभित्रै र बाँकीको अस्पतालमा मृत्यु भएको हो ।

सामाजिक सञ्जालका भिडियोमा मृतकको शव भुईमा डलिरहेको देखिन्छ । इन्डोनेसियाका प्रमुख सुरक्षा मन्त्रीले ४० हजार मानिस अटाउने रंगशालामा क्षमताभन्दा बढी मानिसहरू रहेको बताएका छन् ।
इन्डोनेसियाको फुटबल संघले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । सो घटनाले इन्डोनेसियाको फुटबलको छवि धूमिल बनाएको संघले जनाएको छ ।
इन्डोनेसियाको प्रमुख लिग बीआरआई लीगा–१ लाई एक हप्ताको लागि निलम्बन गरिएको छ ।