
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजीसहित पुत्ला दहन गरिएको छ ।
काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वास्छे) मा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि स्थानीयले शनिबार साँझ प्रदर्शनसहित पुत्ला जलाएका हुन् ।
डोजर आतंक बन्द गर, नेवाः एकता जिन्दावाद, नेवाः विरोधी होसियार जस्ता नारा लगाएका थिए । स्थानीय बासिन्दाले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।
महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएको थियो ।
स्थानीय बासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन सायमी समेत पुगेका थिए ।
उनले काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाए ।