सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको निर्णायक बैठक

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको निर्णायक बैठक आज बस्दैछ ।

गठबन्धनमा रहेका पाँचै दलका शीर्ष नेतासहित सिट बाँडफाँटबारे सहमति जुटाउन कार्यदलका ११ जना सदस्यसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्न भन्दै आफ्ना प्रभावशाली नेतालाई कुनै कार्यक्रम नराख्न र बाहिर नजान सर्कुलर गरेका छन् ।

निर्णायक भनिएको आजको बैठकले प्रतिनिधि सभाका मिल्न बाँकी क्षेत्र र प्रदेश सभाका क्षेत्रबारे सहमति जुटाउने बताइएको छ ।
गठबन्धनबीच संघीय संसद्अन्तर्गत धनकुटा, सल्यान, मोरङ ४ र ५, सुनसरी ४, काठमाडौं २, ३ र ७, सप्तरी १, बारा ३, महोत्तरी ३, धादिङ–१ लगायतका क्षेत्रमा सहमति हुन बाँकी छ ।

गठबन्धनमा कांग्रेसले ८५, माओवादी केन्द्रले ४७, एकीकृत समाजवादी १७, जसपा १४ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने करिब सहमति भएको छ ।

गठबन्धनका नेताहरुले नमिलेको स्थानमा प्रदेशको बाँडफाँट गरेर सहमति जुटाउने कोशिस गरिरहेका छन् । प्रदेशसभातर्फ ३३० मध्ये २२० स्थानमा सहमति नजिक पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?