१ लाख १५ हजार म्यादीका लागि खुल्यो भर्ना

आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुलेको छ ।

प्रहरी प्रधान कार्यालयले आज सूचना प्रकाशित गर्दै भर्ना खुलेको जानकारी दिएको हो । म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन् ।

दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको पनि हुनुपर्नेछ ।

६ गते सम्म आवेदन दिनेमध्येबाट असोज ९ गतेदेखि १४ गतेसम्म छनौट सुरु गरिनेछ । असोज २५ गते अन्तिम नतिजा सार्वजनिक गर्ने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

म्यादी प्रहरीमा भर्ना हुनेले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको पारिश्रमिक र खाद्यान्न बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ अतिरिक्त रकम पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?