बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ । बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको हो ।

उनले ७० वर्षसम्म बेलायतको राजगद्दीन सम्हालिन् । बिहीबार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त भएपछि उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए ।

महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन् ।

उनको निधनपछि उनका जेठा छोरा चाल्र्स अब राजा चाल्र्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन् ।

राजा चाल्र्स तृतीयले प्रिय आमाको निधन एउटा ‘ठूलो दुःखको क्षण’ भएको बताएका छन् ।

राजा चाल्र्सले विज्ञप्ती जारी गर्दै भने– हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहिरो शोक मनाउने छौँ । मलाई थाहा छ उनको अभाव देशभरी नै अनुभव गरिने छ र राष्ट्रमण्डलका देशहरूमा पनि । साथै संसारभरीका अनगिन्ती मानिसहरूले पनि उनको अभाव महसुस गर्नेछन् ।’

एउटा विज्ञप्ति जारी गर्दै बकिंघम दरबारले भनेको छ, –आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ । राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्कनेछन् ।’

चिकित्सकहरूले महारानीलाई चिकित्सकीय निगरानीमा राखेपछी उनका सबै सन्तानहरू एबरडीन नजिकैको बाल्मोरलमा भेला भएका थिए ।

महारानीको निधनको घोषणा हुँदा उनको नाति राजकुमार विलियम पनि त्यहाँ थिए भने अर्का नाति राजकुमार ह्यारी बाटोमा नै थिए ।

महारानी एलिजाबेथ द्वितीयाबाट मंगलबार मात्रै पदभार ग्रहण गरेकी ब्रिटेनकी प्रधानमन्त्री लिज ट्रसले ‘महारानी आधुनिक ब्रिटेन निर्माण भएको चट्टान जस्तै भएको र उनले हामीलाई आवश्यक स्थिरता र शक्ति प्रदान गरेको’ बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?