बलात्कार मुद्दामा पल शाहले पाए सफाइ, बाल यौन दुरुपयोगमा साढे २ वर्ष जेल, १० लाख क्षतिपूर्ति तिर्नुपर्ने

अभिनेता पल (पूर्णविक्रम) शाहले आफूमाथि लागेको बलात्कार मुद्दामा सफाई पाएका छन् । तर उनलाई नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोग मुद्दामा साढे २ वर्ष जेल र १० लाख क्षतिपूर्ति र २५ हजार रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहले बलात्कार गरेको पुष्टि नभएपनि यौनजन्य अस्वभाविक व्यवहार देखिएको ठहर गरेको हो ।

अदालतले सोधपुछका क्रममा एक्लै सुत्न डराएको भनी भोलिपल्ट एक्लै सुत्न डर लाग्छ÷लाग्दैन भनेर सोधपुछ गरेको र मेसेज लगायतका अन्य गतिविधि अस्वभाविक देखिएको उल्लेख गरेको छ ।

अदालतको फैसलामा भनिएको छ, ‘मसँग कोही कसैले नजिक हुने चाहना राख्यो भन्दै त्यसलाई स्वीकार गरी वार्तालाप लगायतका नाबालिकासँग मेसेज लगायतका अन्य गतिविधिमा छलफल भन्दै पटकपटक भेटघाट गरेको देखिँदा मुलुकी अपराध संहिता २०७४ को दफा २२५(२) मा उल्लेखित अन्य कुनै किसिमको यौनजन्य अस्वभाविक व्यवहार गरेको देखिँदा यी प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले मुलुकी अपराध संहिताको दफा २२५ (२) विपरीतको बाल यौन दुरुपयोगको कसुर अपराध गरेको ठहर्छ ।’

फैसलामा पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन र २५ हजार जरिबाना गर्न समेत आदेश दिएको छ ।

अदालतले पीडितका अभिभावकलाई उमेर नपुगेको नाबालक छोरीलाई गायन र अभिनय क्षेत्रमा एक्लै छाडेको र आफूले पूरा गर्नुपर्ने अविभावकीय कर्तव्यबाट च्युत रहेका कारण यौन दुव्यर्वहार भएको भन्दै पनि सचेत गराएको छ ।

‘जाहेरवाला (पीडितका बाबु) लाई आगामी दिनहरुमा आफ्नो अविभावकीय कर्तव्य वहन गर्न र नाबालक छोरीलाई आफ्नो पूर्ण संरक्षणमा राख्न सचेत गराइन्छ’, अदालतको फैसलामा भनिएको छ ।

यसैगरी सञ्चारमाध्यमलाई पनि विषयवस्तुको संवेदनशीलतालाई विचार गरेर मात्र समाचार सम्प्रेषण गर्न सचेत गराएको छ ।

गत चैतमा शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितका बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?