पहिरोले पुरिदा माइतबाट फर्किदै गरेका आमा–छोरीको मृत्यु

पहिरोले पुरिदा रुकुम पश्चिममा आमा र छोरीको मृत्यु भएको छ भने अर्की छोरी घाइते भएकी छन् ।

जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया छोरी प्रतीक्षा रानाको मृत्यु भएको हो भने बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएकी छन् ।

तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बालमती आइतबार दुई छोरीसँगै जाजरकोटको नलगाड नगरपालिका–१ स्थित माइतीबाट रुकुम पश्चिम हुँदै घरतर्फ फर्कदै थिइन् ।

पानी परेपछि उनीहरु रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१४ पिपलचौर स्थित छेपारे सामुदायिक वनको भवनमा बसेका थिए ।

सोही समयमा दिउँसो साढे ३ बजे माथिबाट आएको पहिरोले पुर्दा उनीहरुको मृत्यु भएको हो । प्रहरी र स्थानीयले एक छोरीलाई उद्धार गरे पनि दुई जनालाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?