
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीमा अघि सारेर निर्वाचनमा जाने भएको छ ।
४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कसरी जाने भन्ने रणनीति तय गर्न बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो ।
समूहगत छलफलबाट आएको सुझावअनुसार ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको एक नेताले जानकारी दिए । पार्टी कार्यालय च्यासलमा दुई दिनसम्म चलेको बैठकले उम्मेदवार छनोटको मापदण्ड समेत तय गरेको छ ।
एमालेले समानुपातिक उम्मेदवारलाई नदोहोर्याउने र अघिल्लो पटक चुनाव हारेकालाई उम्मेदवार नबनाउने निर्णय गरेको हो ।
यसअघि दुई पटक माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका ओली यसपटक एकल बहुमत सहित प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका छन् ।
यद्यपि सत्तारुढ गठबन्धन आगामी निर्वाचनमा तालमेल गरेर जाने तयारीमा रहेकाले एमालेलाई निर्वाचन जित्न फलामको च्युरा चपाउनु सरह हुने राजनीतिक विश्लेशकहरु बताउँछन् ।
अघिल्लो पटक दुई तिहाई नजिकको बहुमतको सरकारको नेतृत्व गरेका ओलीले दुई पटकसम्म संसद विघटन गरेका थिए ।