भरतपुर पुगेका प्रचण्डले भने, –नागरिकता विधेयक राष्ट्रघाती भन्नु पाखण्डपन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही नभएको टिप्पणी गरेका छन् ।

चितवनको भरतपर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आमा बुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता नपाएको समस्या समाधान गर्ने मुख्य लक्ष्यसहित अहिलेको विधेयक ल्याइएको दाबी गरे ।

उनले भने, ‘यसलाई राष्ट्रघाती भन्नु पाखण्डपन मात्रै हो ।’

उनले प्रतिनिधिसभाबाट दोस्रोपटक पारित भएर राष्ट्रियसभामा पुगेको नागरिकता विधेयक त्यहाँबाट पारित भएपछि पुनः प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउने बताए ।

उनले केपी ओली प्रधानमन्त्री भएको समयमा नै ल्याएको अध्यादेश अनुसारको विधेयक भएकाले एमालेले यसको विरोध गर्नुको औचित्य नभएको बताए ।

उनले भने, ‘यो त्यही विधेयक हो जुन केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशको रुपमा ल्याइएको थियो । त्यही मान्छे अध्यादेशको रुपमा पोहोरसाल लगेका थिए, त्यही विधेयक अहिले संसदमा ल्याउँदा राष्ट्रघाती भन्नुजस्तो अनैतिकता केही हुन्छ ?’
ओली सरकारका बेला ल्याएको विधेयक राज्यव्यवस्था समितिले सदनमा लैजान आग्रह गर्दा ओलीले नै नमानेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?