काँग्रेस नेता प्रदीप गिरीको निधन

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको ७५ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको शनिबार राति ९ः३० बजे निधन भएको काँग्रेसका सचेतक मीन विश्वकर्माले जानकारी दिएका छन् ।

स्वास्थ्यअवस्था जटिल बन्दै गएपछि उनलाई आईसीयूमा राखिएको थियो ।

स्वास्थ्यमा सुधार नदेखिएपछि परिवारका सदस्य भेन्टिलेटरबाट हटाउन आग्रह गरेका थिए । त्यसलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । चार दिनदेखि उनलाई भेन्टिलेटरमा अक्सिजनको सहारामा राखिएको थियो ।

गिरीका शरीरका अधिकांश अंग प्रत्यंगले काम गर्न छाडेपछि परिवारका सदस्यले भेन्टिलेटरबाट हटाउन भनेका थिए ।

भारतमा नयाँदिल्ली र मुम्बईमा घाँटीको शल्यक्रिया गरेर फर्किएका गिरी निमोनिया भएपछि मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

गिरीको परिवारले शनिबार साँझ जारी गरेको प्रेस नोटमा भने उनको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख थियो ।

भारती सिलवाल गिरीले जारी गरेको प्रेस नोटमा निमोनियाले एकदमै चापेपछि केही दिनयता शरीरका थुप्रै अंगले काम गर्न छाडेको उल्लेख थियो ।

कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था बुझ्न शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?