देव गुरुङ बने माओवादी केन्द्रको महासचिव, २१ पदाधिकारीमा एक महिला

नेकपा माओवादी केन्द्रले महाधिवेशनको ८ महिनापछि पदाधिकारी चयन गरेको छ । शनिबार बसेको स्थायी समितिको बैठकले पदाधिकारी चयन गरेको हो ।

सबैभन्दा चासोपूर्वक हेरिएको र अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा देव गुरुङ चयन भएका छन् ।

महासचिवमा नेताहरु वर्षमान पुनः र जनार्दन शर्माको दाबी थियो । दुवै जनाले एकले अर्कोलाई नस्वीकार्ने अवस्थामा गुरुङ महासचिव बन्न सफल भएका हुन् ।

शर्मा र पुन उपमहासचिव बनेका छन् । माओवादीको २१ सदस्यीय पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षमा कृष्णबहादुर महरा छानिएका छन् ।

माओवादीको पदाधिकारीमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक जना महासचिव, ७ जना उपमहासचिव, ९ जना सचिव र एक कोषाध्यक्ष छन् ।

माओवादीको २१ सदस्यीय पदाधिकारीमध्ये अध्यक्षमा प्रचण्ड र वरिष्ठ उपाध्यक्ष श्रेष्ठ यसअघि नै चयन भएका थिए ।

अर्का उपाध्यक्षमा महरा आउने करिब निश्चित थियो । शनिबारको बैठकले महासचिवमा देव गुरुङ, उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेललाई चयन गरेको छ ।

यस्तै सचिवमा दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की तथा कोषाध्यक्षमा श्रीराम ढकाल चयन भएका छन् ।

माओवादीको २१ सदस्यीय पदाधिकारीमा महिलाबाट पम्फा भुसालमात्रै परेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?