सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडका विषयमा छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दैछ ।

सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । कार्यदलले सिट बाँडफाँटको मोडालिटी तयार पार्ने विषयमा छलफल सुरु गर्नेछ ।

साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् ।

नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

सिट बाँडफाँडको मोडालिटी बनाउन कार्यदललाई साउन अन्तिम सातासम्मको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?