राजीनामा स्वीकृत नभएका पोखरेल गए अनिवार्य अवकाशमा

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेल गएरातिबाट अनिवार्य अवकाशमा गएका छन् । नेपाल प्रहरीका एआईजीको ५६ वर्षे उमेर हदका कारण उनी गएरातिदेखि अनिवार्य अवकाशमा गएका हुन् ।

आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले ३१ असारमा खारेज गरिदिएपछि उनले २ साउनमा राजीनामा दिएका थिए । तर आईजीपी धिरजप्रताव सिंहले उनको राजीनामा स्वीकृत गर्ने प्रक्रिया अघि नबढाएपछि अनिवार्य अवकाशमा गएका हुन् ।

सरकारले १८ असारमा नयाँ आईजीपीमा सिंहलाई बढुवा गरेसँगै वैशाख १९ गते सर्वोच्च पुगेका उनी त्यसयता कार्यालयमा हाजिर भएका थिएनन् ।

उनले साउन २ गते एआईजीबाट राजीनामा बुझाएका थिए । प्रहरी प्रधान कार्यालयमै पुगेर राजीनामा दिए पनि आईजीपी धीरजप्रताप सिंहले राजीनामा स्वीकृतिको प्रक्रिया अगाडि बढाएनन् । एआईजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्ने भए पनि उनको राजीनामा हेडक्वाटरमै थन्क्याइएको बताइएको छ ।

तर पोखरेलको राजीनामा स्वीकृति नभए पनि उनीमाथि कुनै कारबाही भने नहुने प्रहरीको उच्च स्रोत बताउँछ । नेपाल प्रहरीमा ४५ दिनसम्म लगातार अनुपस्थित भएमा बर्खास्तसम्म पर्न सक्छन् ।

आफ्नै ब्याची पोखरेलमाथि कारबाही गर्ने पक्षमा भने आईजीपी सिंह छैनन् । यसअघि मुद्दाको समय लम्बिएपछि उनले थप बिदा मागे पनि सिंहले स्वीकृति दिएका थिएनन् । उनले २०४९ चैतमा प्रहरी निरीक्षकबाट प्रहरी सेवा सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?