श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेका दिनेशको सुसाइड नोटमा के छ ?

काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीका दिनेश पाण्डेले श्रीमती सुनिता र दुई छोराछोरीको हत्या गरेर आत्महत्या गरेका छन् ।

घरायसी विवाद बढ्दै जाँदा परिवार नै सखाप भएको यो घटनाबारे थाहा पाएलगत्तै गएको प्रहरीले घरको ढोका फोडेर भित्र पसेपछि परिवारका चारै जनालाई मृत अवस्थामा फेला पारेको थियो ।

सो घटनामा प्रहरीले दिनेशले लेखेको १० पेज लामो सुसाइड नोट समेत फेला पारेको छ । प्रहरीका अनुसार सुसाइड नोटमा दिनेशले सो घटना हुनुमा श्रीमती सुनिता र उनका माइतीलाई दोष दिएका छन् ।

उनले आफूले कुबेतमा ११ वर्षसम्म बसेर कमाएको सम्पत्ति श्रीमती र माइतीले कब्जा गरेर आफूलाई सिध्याउन खोजेपछि आफूले गम्भीर कदम उठाएको उल्लेख गरेका छन् ।

लामो घर झगडाको परिणामस्वरुम ४१ वर्षीय दिनेशले ३९ वर्षीया सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीया छोरा आशिकको हत्या गरेर आत्महत्या गरेका थिए ।

दिनेशले लेखेको सुसाइड नोटमा उनले लेखेका छन्, ‘मैले ११ वर्षसम्म कुवेतको तातो घाममा दुःख गरेर कमाएको सम्पत्ति श्रीमती र उसका माइतीले कब्जा गर्न खोजे । मलाई फसाएर मेरो सम्पत्ति हडप्न खोजिरहे । श्रीमती र श्रीमतीका दाजुहरूले मलाई पटक पटक थुनाएर सबै सम्पत्ति लैजान खोजेकाले यो कदम उठाउन बाध्य भएँ ।’

उनले सुसाइड नोटमा श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गर्ने भएपछि छोराछोरीलाई एक्लै छाड्न नचाहेको उल्लेख गरेका छन् ।

‘मेरा बच्चाबच्चीको औधी माया लाग्छ,’ उनले लेखेका छन्, ‘मैले बच्चा बच्चीलाई मायाले गर्दा सँगै लैजान कठोर कदम चाल्न बाध्य भएँ ।’

उनले सुसाइड नोटमा श्रीमतीको अर्कैसँग सम्बन्ध रहेको आशंका समेत गरेका छन् ।

आफूलाई मोबाइल समेत हेर्न नदिएको, लुकीलुकी अर्कैलाई म्यासेज र कल गर्ने गरेकाले सम्हाल्न गाह्रो भएको लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?