एकै परिवारका ४ जना मृत भेटिए, श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या

काठमाडौंको काभ्रस्थलीमा एकै परिवारको चार जना मृत अवस्थामा फेला परेका छन् ।

तारकेश्वर नगरपालिका–२ काभ्रस्थलीस्थित घरमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता, १३ वर्षकी छोरी आशिका र ८ वर्षीय छोरा आशिक मृत अवस्थामा भेटिएका हुने । मृतक दिनेशले परिवारका अन्य सदस्यको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

सैनिक स्कुलमा कक्षा ५ मा पढ्ने आशिकालाई लिन स्कुल बस घरमै आउँथ्यो । सोमबार बिहान स्कुल जान बस चढ्न नआएपछि छिमेकीले सोधीखोजी गरेका थिए । घरमा बोलाउँदा कोही नबोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फोडेर हेर्दा चारै जना मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीले मृतक चारैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ स्थायी घर भएका पाण्डे परिवार केही वर्षदेखि काठमाडौंमा बस्दै आएको थियो । दिनेश करिब १२ वर्ष वैदेशिक रोजगारीका लागि कुवेत गएर साढे ४ वर्षअघि मात्रै नेपाल फर्किएका थिए । उनीहरुबीच लामो समयदेखि सम्बन्ध राम्रा थिएन ।

श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध रहेको भन्दै दिनेशले शंका गर्न थालेपछि उनीहरुबीच झगडा हुँदै आएको थियो । बारम्बार झगडा भएपछि सुनिताले दिएको उजुरीका आधारमा प्रहरीको बालाजु वृत्तले तीन पटकसम्म दुवैलाई बोलाएर छलफल गराएको थियो ।

दिनेशले सुनितासँग सम्बन्धविच्छेद गर्न खोजे पनि छोराछोरीको भविष्यमा असर गर्ने भन्दै सुनिताले अस्वीकार गरेकी थिइन् ।
वैदेशिक रोजगारीका लागि बेलायत जान लागेकी उनको भिसा समेत लागिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?