सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

आजको बैठकमा केन्द्रीय पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका विषयमा समेत छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
यसैगरी माओवादी केन्द्रको आजको स्थायी कमिटी बैठकमा अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा समेत छलफल हुनेछ ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि जनार्दन शर्माले २२ असारमा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
सो विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले उनीविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै सफाई दिएको छ । शर्माले सफाई पाएपछि उनलाई नै अर्थमन्त्रीमा पठाउनुपर्ने मत माओवादी केन्द्रमा रहेको छ । तर उनी आफैंले भने अर्थमन्त्रालयमा तत्काल नफर्किने बताएका छन् ।
जावलाखेलस्थित निजी निवासमा भेट्न आएका नेताहरुसँग उनले आगामी निर्वाचनपछि कुनै मन्त्रालय सम्हाल्नेगरी सरकारमा जाने तर अहिले अर्थ मन्त्रालयमा नफर्कने बताएका थिए ।