काठमाडौंको चाप कम गर्न काभ्रेमा बन्ने भयो विमानस्थल

धुलिखेल । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण गरिने भएको छ । आन्तरिक उडानलाई व्यवस्थापन गर्न काभ्रेको नागीडाँडा वा ठूलीचौरमा अबको १५ दिनभित्र विमानस्थल निर्माणको टुङ्गो लाग्ने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दुवै स्थानमा विमानस्थल निर्माणका लागि विभिन्न मितिमा प्रारम्भिक अध्ययन गरिसकेको छ । अध्ययनको लामो समयसम्म पनि विमानस्थलले गति लिन सकेको थिएन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वैकल्पिक विमानस्थल निर्माणलाई विशेष चासो लिएपछि विमानस्थल निर्माणले सार्थकता पाउने भएको हो । पर्यटन मन्त्री अधिकारीले प्रस्तावित विमानस्थल क्षेत्रको मंगलबार स्थलगत अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अबको १५ दिनभित्र काभ्रेमा कुन स्थानमा विमानस्थल बन्ने भन्ने टुंगो लगाइने बताए ।

उनका अनुसार मन्त्रालयद्वारा एक विज्ञ समिति दुई दिनभित्र गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइनेछ । प्रतिवेदनको निष्कर्षअनुरुप विमानस्थल निर्माण आगामी आर्थिक वर्षको बजेट भाषणमा समेटिने मन्त्री अधिकारीको भनाइ छ ।

“काठमाडौँ भन्दा बाहिर नजिकै आन्तरिक (डोमेस्टि) विमानस्थल निर्माण गर्न सकियो भने अत्याधिक आन्तरिक उडान यहाँबाट गर्न सकिन्छ, हामीले आज हेरेका तीनै स्थान र यसभन्दा अगाडिका प्रतिवेदनको थप अध्ययन गरेर कुन प्रभावकारी, स्थानीय सहयोग र कम खर्चमा छिटो समयमा तयार हुनसक्छ छिट्टै निर्णय लिन्छौँ,”मन्त्री अधिकारीले भने ।

पर्यटनमन्त्री अधिकारीले वैकल्पिक विमानस्थल निर्माणमा प्राविधिकलगायत सबै प्रक्रिया चाँडो अघि बढाउन आफ्नो घोषित १०० दिने कार्यक्रमभित्रै विमानस्थल कहाँ र कुन मोडलमा बन्ने भन्ने निर्णय भइसक्ने उल्लेख गरे ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँको विकल्पका रुपमा काभ्रेमा विमानस्थल निर्माण अपरिहार्य भएकाले यसमा सबैको सहयोग चाहिने बताए ।
उनले पर्यटकीय क्षेत्र काभ्रेको समग्र विकासका लागि पनि विमानस्थल आवश्यक रहेको भन्दै पर्याप्त स्रोत साधन परिचालन गरेर कम लागतमा चाँडो विमानस्थल निर्माण गरिनुपर्नेमा जोड दिए ।

बनेपा नगरपालिकाको नागीडाँडा तथा धुलिखेल नगरपालिकाको ठूलीचौर र चिसापानी ठूलीचौरको मन्त्रीसहितको टोलीले निरीक्षण गरेको थियो । सहभागीले बैकल्पिक विमानस्थल निर्माण गर्दा स्थानीयको भावना र वातावरणीय सन्तुलन् व्यवस्थापनलाई ध्यान दिनुपर्ने बताए भने अधिकांशले जिल्लाको समृद्धिका लागि विमानस्थल उपयुक्त हुने भन्दै निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भौगोलिक अवस्थिति, विमानको रुट, मौसमी अवस्था र प्राविधिक हिसाबले उपयुक्त स्थानलाई विमानस्थल बनाइनेछ । पर्यटनमन्त्री अधिकारी, सञ्चार राज्यमन्त्री बाँस्कोटासहित, काभ्रेका सांसद, नगरप्रमुख, क्यानका उच्च पदाधिकारी, स्थानीय व्यवसायी तथा सञ्चारकर्मीको टोलीले आज प्रस्तावित विमानस्थलको अवलोकन गरेको थियो ।

क्यानका महानिर्देशक सञ्जिव गौतमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘एयर ट्राफिक’ चाप कम गर्न काठमाडौँ नजिकको गन्तव्य काभ्रेमा विमानस्थल निर्माणका लागि अध्ययन भएको बताए ।

उनकाअनुसार विमानस्थल निर्माणका लागि क्यानले विसं २०६९ मा ठूलीचौरको अध्ययन गरेको थियो भने अहिले नागीडाँडामा अध्ययन गरेको छ । दुवै स्थानको स्थान र भौगोलिक अवस्थिति हेर्दा बढीमा एक हजार २०० मिटरसम्मको धावनमार्ग बनाउन सकिने अध्ययनले देखाएको छ ।

मौसमी अवस्था र विमान रुट निर्धाणमा सहजता दुवै स्थानमा उपयुक्त देखिन्छ । पहाड काट्ने र भर्ने काम दुवै स्थानमा गर्नुपर्ने हुन्छ । लगानीका हिसाबले एक हजार २०० मिटर लामो धावनमार्ग भएको विमानस्थल बनाउन जम्मा पाँच अर्ब खर्च लाग्नेछ, भने ८०० मिटरको बनाउँदा करिब तीन अर्ब लाग्ने क्यानको प्रारम्भिक अनुमान छ ।

अध्ययन भएका दुईमध्ये उपयुक्त स्थानको निक्र्योल गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिनेछ । यसअघि २०६५ मा काभ्रेकै भकुण्डेबेँसी र पाँचखालमा विमास्थल निर्माणका लागि अध्ययन गर्नेक्रममा स्थानीयको विरोधका कारण सम्भव भएको थिएन ।

ठूलीचौर र नागीडाँडामा विवाद

क्यानको प्रारम्भिक अध्ययनअनुसार ठूलीचौर उपयुक्त देखिए पनि स्थानीयको विरोधका कारण कहाँ विमानस्थल बनाउने भन्ने अन्योल छ । सांस्कृतिक सम्पदा तथा पर्यटकीय क्षेत्र मासिने भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

तुलनात्मक रुपमा नागीडाँडामा विमानस्थल बनाउँदा जग्गाको मुआब्जा कम दिनुपर्ने र विमानस्थलको क्षमता कम हुनेछ । नागीका स्थानीयले विमानस्थल निर्माणमा पूर्ण सहयोग गर्ने बताएका छन् ।

समुद्री सतहदेखि एक हजार ८०० मिटर उचाइमा पर्छ नागी । मुआब्जा कम दिनुपर्ने र सडकको पहुँचको सहजता छ । ठूलीचौरमा करिब ६० प्रतिशत मुआब्जा दिनुपर्छ भने नागीमा २५ प्रतिशतमा मात्र मुआब्जा दिए पुग्छ । विमानस्थलका लागि चौडाई ३०० मिटर र लम्बाई एक हजार २०० मिटर आवश्यक पर्छ । अहिले अध्ययन भएका स्थानमा बढीमा एक हजार २०० मिटरको धावनमार्ग र २५ देखि ३० वटा विमान पार्किङ गर्न सकिनेछ ।

वार्षिक ७५ लाख हवाई यात्रु व्यवस्थापन

त्रिअविले वार्षिक ७५ लाख यात्रु व्यवस्थापन गर्दै आएको छ । अबको १५ वर्षमो यो संख्या दोब्बर हुने अनुमान गरिएको छ । “अहिले हामीले ७५ लाख वार्षिक ट्राफिक व्यवस्थापन गरिरहेका छौँ, विश्वमा हरेक १५ वर्षमा दोब्बर ‘ट्राफिक ग्रोथ’ बढेको छ ‘क्यानमा महानिर्देशक गौतमले भने । नेपालमा वार्षिक ८ प्रतिशतका दरले हवाई चाप बढिरहेको र आगामी १५ वर्षभित्र यो संख्या दोब्बर हुने हुँदा राजधानीनजिक अर्को विमानस्थलको आवश्यकता महसुश गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?