घरेलु कामदार राखिएका १५ हजार सुरक्षाकर्मी फिर्ता गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं  । अझै पनि करिब १५ हजार सुरक्षाकर्मी उच्चपदस्थको घरमा घरेलु काम गर्न विवश रहेको पाइएको छ । हजारौंको संख्यामा सेना र प्रहरी घरेलु कामदारको रूपमा रहेको पाइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई एक साताभित्र फिर्ता गर्न गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै गृह मन्त्रालयले हाकिम तथा भीआईपीको घरमा कामदार बसेका सुरक्षाकर्मीको विवरण खोजी थालेको छ । गृहसचिव मोहनकृष्ण सापकोटाले प्रधानमन्त्रीको निर्देशनलगत्तै कामदार सुरक्षाकर्मी खोजी गर्न सहसचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिए ।

सुरक्षामा खट्नुपर्ने सुरक्षाकर्मी हाकिम एवं उच्चपदस्थकहाँ घरेलु कामदारको रूपमा रहँदा राज्यले उनीहरूका लागि लगानी गरेको करोडौ रुपैयाँ खेर गइरहेको भन्दै प्रधानमन्त्री कार्यालयका सचिवहरूले ओलीको ध्यानाकर्षण गराएका थिए । प्रहरी, सेना, निजामती, पूर्वमन्त्री, उच्चपदस्थ पदाधिकारी, व्यापारिक प्रतिष्ठान, उच्च सुरक्षा अधिकारीका आफन्त तथा साथीभाइले समेत सोर्सफोसमा प्रहरी र सेनालाई सुरक्षाका नाममा वर्षौंदेखि घरेलु कामदार बनाउँदै आइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीले बुधबार गरेको सातै प्रदेशका मुख्यमन्त्रीसँगको छलफलमा मुख्यमन्त्रीहरूले प्रदेशमा सुरक्षाकर्मी अभाव हुँदा सुरक्षा चुनौती बढेको बताएका थिए । मुख्यमन्त्रीहरूले सुरक्षाकर्मी अभाव रहेको बताउँदै गर्दा प्रधानमन्त्री ओलीले अहिले पनि प्रहरी र सेनाको हाकिमकहाँ हजारांै सुरक्षाकर्मी घरेलु कामदारको रूपमा काम गर्न विवश भएको तथ्य स्पष्ट पार्दै त्यसरी काम गरिरहेका हजारौं सुरक्षाकर्मीलाई साताभित्रै फिर्ता गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री कार्यालयले गरेको अध्ययनअनुसार अहिले प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारी, उनीहरूका आफन्त तथा नजिकका साथीभाइ, पूर्वमन्त्री, पूर्वगृहसचिव, नेता तथा व्यापारीकहाँ गरी झन्डै नौ हजार सुरक्षाकर्मी घरेलु कामदारको रूपमा कार्यरत छन् । सेनाका हाकिमकहाँ झन्डै ६ हजार सैनिक सुरक्षाकर्मी घरेलु कामदारको रूपमा कार्यरत छन् ।

प्रहरीका प्रायः सबैजसो बहालवाला डीएसपीदेखि आईजीपीसम्मले दुईदेखि तीन जनासम्म सुरक्षाकर्मीलाई घरेलु कामदारको रूपमा राख्दै आएका छन् भने इन्चार्जको रूपमा रहेका सई तथा प्रहरी निरीक्षकले समेत सुरक्षाकर्मीलाई कामदार बनाउँदै आएका छन् ।

 

नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारी, उनीहरूका आफन्त एवं साथीभाइ, पूर्वमन्त्री, पूर्वगृहसचिव, नेता, तथा व्यापारी कहाँ सुरक्षाकर्मी घरेलु काम गर्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?