भिषण आगलागीमा दुई अग्नीनियन्त्रकको मृत्यु, दुईको अवस्था चिन्तजनक

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ पटेलनगरस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधवार बिहान भएको भिषण आगलागीमा दुई जना अग्नीनियन्त्रकको मृत्यु भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक छ ।आगो निभाउन गएका वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्रका कर्मचारी आगोको चपेटामा परेका हुन् ।

सुपर ग्यास उयद्योगमा ग्यास बोटलिङ गर्ने ट्यांकबाट ग्यास चुहावट भएर आगलागी भएको हो । उद्योगमा लागेको आगो अनियन्त्रित भएपछि नजिकका आधा दर्जन गाउँ सुरक्षाकर्मीले खाली गराएका छन् । आगो नियन्त्रण गर्न तैनाथ सुरक्षाकर्मी र थप दमकल आगलगी भएको ठाउँसम्म पुग्न सकिरहेका छैनन् । नेपाल र भारतको संयुक्त टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।

ग्यास लिक भएको खबर बिहान साढे ५ बजे महानगरपालिका कार्यालयको बारुणयन्त्र शाखालाई गएको रहेछ । आगो लागेको भन्ने कुरा त्यहाँ भनिएको थिएन् । ग्यास लिक भएपछि उद्योग नजिक पुगेपछि बारुणयन्त्रको धुँवा फ्याँकने साइलेन्सरको झिल्कोले ग्यासलाई भेंटाएपछि बिस्फोट सहितको भिषण आगलगी भएको अनुमान गरिएको छ ।

यो आगलागीमा परि मृत्यु हुनेमा बारुणयन्त्रका कर्मचारीद्वय यादव अधिकारी र मधुसुदन मिश्र रहेको दमकलका कर्मचारी शेरबहादुर कार्कीले बताए । ‘सर्लाहीका अधिकारी र तनहुँ डुम्रेका मिश्रको मृत्यु भएको कुरा आएको छ, नजिक गएर सनाखत गर्न पाइएको छैन,’ पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले भने, ‘भारतबाट प्राविधिकहरुको टोली आएको छ, एक किलोमिटरको एरियामा अहिले घेराबन्दी गरी कसैलाई जान दिइएको छैन् ।’ लिकेज भएको ट्यांकको ग्यास सिद्धिएपछि आगो आफै सकिएर जाने प्राविधिकहरुले बताएको उनले जानकारी गराए ।

घट्नाक्रम हेर्दा, ग्यास लिक भएको खबर बिहान साढे ५ बजे महानगरपालिका कार्यालयको बारुणयन्त्र शाखालाई गएको रहेछ । आगो लागेको भन्ने कुरा त्यहाँ भनिएको थिएन् । ग्यास लिक भएपछि उद्योग नजिक पुगेपछि बारुणयन्त्रको धुँवा फ्याँकने साइलेन्सरको झिल्कोले ग्यासलाई भेंटाएपछि बिस्फोट सहितको भिषण आगलगी भएको अनुमान गरिएको छ । बारुणयन्त्रका दुई कर्मचारीको घट्नास्थलमै जलेर निधन भएको हो । अर्का दुई जना दमकल कर्मचारी संजीव नेपाल र अरुण कुमार महतो जलेर गम्भीर रुपमा घाइते भएका छन् ।

‘बिहान साढे ६ बजेतिर आवाज आयो, म भैंसीलाई गोठबाट निकाल्ने तरखरमा थिए, एक जना चारैतिरबाट जलेको मान्छे भाग्दै आयो, कपडा सबै जलेर उसको शरीर निर्बस्त्र थियो, रगत चुहीरहेको थियो, पैताला परेको ठाउँमा रगतको छाप परिरहेको थियो, यो दृश्यले आङ सिरिङ्ग भयो,’ भैसी र पाडापाडीलाई लिएर सूरक्षित स्थानतिर हिडेका इटियाहीका स्थानीय हरेन्द्र पटेलले भने, ‘गाउँकै जावेदले नाङ्गो जिउ ढाक्न गाम्छा दिए, तब सम्म एम्बुलेन्स आइपुग्यो ।’ नराम्ररी जलेर घाइते भएका दुबैलाई वीरगन्ज हेल्थकेयर अस्पतालमा प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । बिहान साढे ६ बजे आगलगी भएको ठाउँबाट दुई घन्टासम्म लगातार विष्फोटको आवाज सुनिएको थियो । सिलिण्डर पड्किएको अनुमान गरिएको छ ।

ग्याँस उद्योगमा अझै आगो बलिरहेको छ । धुवाको मुस्लो निस्किरहेको छ । ग्यास उद्योगभन्दा करिब एक किलोमिटरको दुरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र हजारौं स्थानीयहरु बसेका छन् । आसपासका गाउँहरु खाली गराइएपछि मानिसहरु घरबार छोडेर निस्केका छन् । ‘मानिसहरु घरै छोडेर हिडेपछि आज कसैकहाँ खाना पाकेन, बालबालिका र बृद्धबृद्धा भोकएका छन्,’ मनियारीका संन्दिप यादवले भने । मनियारी, जगरनाथपुर, पटेल नगर, इटियाही, भवानीपुर, बहुअरी, पर्सौनी लगायतका गाउँका मानिसहरुलाई प्रहरीले घर छोडी टाढा बस्न चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?