जापानको आकासमा फेरि उत्तर कोरियाको मिसाइल, त्रासमा जापानी

टाेकियाे । उत्तर कोरियाले शुक्रबार अर्काे क्षेप्यास्त्र हानेको समाचार छ । उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र शुक्रबार जापानको आकासमा हानेको छ । 

यस समाचारलाई संसारका समाचार समितिहरूले शुक्रबार बिहानदेखि प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उनीहरुले फेरि उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको समाचारमा जनाएका छन् ।

अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसङ्घको बारम्बारको चेतावनीको समेत बेवास्ता गर्दै आणविक परीक्षणहरू गर्दै आएको उत्तर कोरियाले शुक्रबार पुनः ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो ।

उत्तर कोरियाले गएको सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित मिसाइल हानेको थियो । सो परीक्षण अत्यन्तै शक्तिशाली थियो । आज पुनः गरेको उसको यो आर्काे क्षेप्यास्त्र परीक्षण सातौँ पटक हो ।

यो परीक्षणमा पनि हाइड्रोजन बमका सेलहरु राखिएको अनुमान गरिएको छ । उत्तर कोरियाले यस कुराको स्वीकार पनि गरेको बताइएको छ ।

यो ब्यालेस्टिक क्षेप्यास्त्र अहिलेसम्मको सबैभन्दा लामो दुरीमा पुग्न सक्ने क्षमताको रहेको बताइएको छ । उत्तर कोरियाले पनि सो कुराको पुष्टी गरेको छ ।

अमेरिकाले यसलाई मध्यम दुरीको क्षेप्यास्त्र हो भनेको छ । उसले अमेरिका र प्यासिफिक क्षेत्रका लागि यो क्षेप्यास्त्र कुनै चुनौती बन्न नसक्ने पनि निष्कर्ष निकालेको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले यो क्षेप्यास्त्र ३७ सय किलोमीटर टाढासम्म र ७७० किलोमीटर उचाइमा पुग्न सक्ने क्षमताको रहेको देखाएको बताएको छ ।

यस ब्यालेस्टिक क्षेप्यास्त्र पनि शक्तिशाली रहेको उसको निष्कर्ष छ । यो क्षेप्यास्त्र जापानको आकासमा हानिएको छ । जापानको होकाइदो टापूको आकासमा यो क्षेप्यास्त्र पुगेको पुष्टी भएको छ ।

यस कुराको पुष्टी जापान र उत्तर कोरियाले पनि गरेका छन् । दक्षिण कोरियाको रक्षा मन्त्रालयले पनि यस कुराको पुष्टी गरेको छ । जापानले यस घटनाको कडा शब्दमा निन्दा एवम् भत्र्सना गरेको छ ।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले उत्तर कोरियाले शुक्रबार बिहान हानेको क्षेप्यास्त्र हाइड्रोजन बम मिसाउन सक्ने खालको रहेको जनाएका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमहरूले यहाँका नेतालाई उद्धरण नगरी उक्त परीक्षण सफल भएको पनि जनाएका हुन् ।

उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । केही समय मात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो ।

उत्तर कोरियाले पछिल्लो पटक गरेको यो परीक्षणका कारण संसारमा हतियारको होडको त्रास बढाएको र विश्व शान्तिमा चुनौती थपिएको विश्लेषण गरिएको छ ।

संसारका नेताहरूले उत्तर कोरियाको यो परीक्षणले शान्तिपूर्ण समाधानभन्दा पनि संसारमा नै हतियार र शक्तिको दम्भ शुरु हुने चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यो क्षेप्यास्त्र परीक्षणको कोरियाली शृंखलालाई रोक्न सकेसम्म वार्ता र नभए अन्य विकल्पहरु खोज्न ढिला गर्न नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?