अब नेपालबारे जापानीहरुले सार्वजनिक बसबाटै जानकारी पाउने

टोकियो । जापानको राजधानी टोकियोका सार्वजनिक बसहरुमा नेपाल र नेपाली दूतावास चिनाउने अभियान सुरु हुने भएको छ । टोकियो मेगुरो स्टेशनबाट छुट्ने चारवटा सार्वजनिक बसका यात्रुलाई लक्षित गरि यो व्यवस्था सुरु हुन लागेको हो । जुन अभियानबाट नेपालको पर्यटन प्रवद्धनमा समेत सहयोग पुग्ने छ । यस्तै टोकियोमा रहेको नेपाली दूतावासको कार्यालयका बारेमा पनि यात्रुले जानकारी पाउने छन् ।

गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापाको उपस्थितिमा राजदूत प्रतिभा राणाले टोकियो बस कम्पनीसंग यो सम्झौता गरेकी हुन् । नयाँ सम्झौता अनुसार टोकियो बस कम्पनीले आगामी अक्टोवर एक तारिकबाट जापानी तथा अंग्रेजी भाषमा मेगुरोसोहोस्यौउ बस स्टेशन नजिकै पुगेर यहाँबाट दूतावास जान सजिलो हुन्छ भन्ने सन्देश दिने छ ।

चार वटा बसमा सुरुमा यो सेवा राखिने छ । दैनिक करिब चालिस हजारले नेपाल र नेपाली दूतावास कार्यालय बारेमा जानकारीपाउने छन् ।

यो सेवा दिनेबारेको सम्झौता मंगलबार गरिएको हो । राजदूत राणाले टोकियो बस कम्पनीसँगको यो सम्झौता नेपाल चिनाउने गतिलो माध्यम भएको बताइन् ।

उनले नेपालका बारेमा जापानीहरुले जानकारी पाउने र उनीहरुमा नेपाल प्रतिको चासो बढ्ने बताईन् । उनले नेपाली दूतावासबारे पनि जापानीहरुले सहजै जानकारी पाउने बताइन् । मेगुरो स्टेशनबाट छुटने बसहरु मध्ये पहिलो चरणमा चारवटा रुटमा दैनिक नेपाल र नेपाली दूतावासको वारेमा जानकारी दिइने छ ।

टोकियो बस कम्पनीका प्रतिनिधि ओताले सन २०१५ को तथ्यांक अनुसार दैनिक करिब सैतिस हजार देखि चालिस हजारले सो रुट भएर यात्रा गर्ने गरेकाे जानकारी दिए। पछिल्लाे तथ्यांक भने अाइसकेकाे छैन ।

मंगलबार दूतावास कार्यालयमा आयोजित कार्यक्रममा टोकियो बसका संचालक सहित दूतावासका उपनियोग प्रमुख कुष्णचन्द्र अर्याल, गैरआवासीय नेपाली संघ एनआरएनए जापानका अध्यक्ष थापा, उपाध्यक्ष टासी लामा, सचिव बुद्धिराज घिमिरे, सदस्य प्रहलाद सिंह महत, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, पत्रकार उत्तम गौडेल लगायतको सहभागिता रहेको थियो।

एनआरएनए जापानका सचिव बुद्धिराज घिमिरेको विशेष पहलमा एनआरएनए जापान मार्फत यो सम्झौता गरिएको हो । सचिब घिमिरेले यो सम्झौताले जापानमा नेपाल चिनाउने गतिलो माध्यम बनेको बताए । ती बसहरुले दैनिक चारसय पटक जापानी र अंग्रेजी भाषामा नेपाल बरे जानकारी दिनेछन् ।

सुरुमा छ महिनाका लागि यो सम्झौता गरिएको छ । प्रत्येक छ छ महिनामा सम्झौता नविकरण गरिने जनाइएको छ । एनआरएनए जापानका अध्यक्ष थापाले यो सम्झौता प्रत्येक छ महिनामा नविकरण हुने जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?