जापानको फुकुओका र ओइटामा अझै संकट, हराएका ७ जना फेला परेनन्, ५४ हजार विस्थापित

काठमाडौं । जापानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने फुकुओका र ओइटा प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरुको संख्या ३४ पुगेको छ । 

जुलाई पाँचमा भिषण र अविरण बर्षापछि आएको बाढी पहिरोमा परी अरु सात जना अझै पनि हराइरहेको अधिकारीहरुले जनाएका छन् ।

अझै पनि तुफानी वायुले २७ किलोमिटर बाक्लो मौसमी बाफ लिएर उडिरहेकाले भिषण वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

सोमबार मात्रै थप दुई जनाको शव बाढीपहिरो प्रभावित क्षेत्र भन्दा झण्डै १० किलोमिटर टाढा भेटिएपछि मृत्यु हुनेहरुको संख्या ३४ पुगेको हो ।

बाढी पहिरो प्रभावित क्षेत्रमा हराईरहेकाहरुको खोजी गर्न बगेर आएको माटो हटाउन र भत्किएका घरहरुको काठ निकाल्न सोमबारबाट २७ हजार प्रतिरक्षा बल (एसडीएफ) र अग्नि नियन्त्रकहरु खटाइएको छ ।

त्यसैगरी झण्डै नौ हजार जना स्वयमसेवकहरु पनि बाढी पहिरोले क्षति पुर्याएको ठाँउमा सहयोगका लागि क्रियाशिल रहेको अधिकारीहरुले जनाएका छन् ।

करिब ५४ हजार सर्बसाधारण घरबार बिहीन भएका छन् भने हजार भन्दा बढी घर बाढीका कारण ध्वस्त भएको छ ।

प्रकोप प्रभावित क्षेत्रमा सोमबारबाट तापक्रम उच्च बृद्धि भएको छ । असाकुरा र हिटामा यो वर्षकै उच्च तापक्रम भएका कारण बेपत्ताहरुको खोजि कार्य तिब्र हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?