दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ता प्रस्ताव, अमेरिका र जापानलाई पुर्व जानकारी

टाेकियाे । दक्षिण कोरियाले उत्तरसँग वार्ता प्रस्ताव गरेको खबर छ । प्राय दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको छ । 
रेड क्रसले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न समय माग गरेको दुई दिनपछि दक्षिणले उत्तर कोरियासँग यो शान्ति वार्ताको प्रस्ताव गरेको हो ।

सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार रेड क्रसले सो समय माग गरेको हो ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि प्रस्ताव गरेको हो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाँउमा आगामी शुक्रबार नै वार्ता गर्न प्रस्ताव राखेको छ ।

तर रेड क्रसले भने सो वार्ता आगामी अगष्ट १ का लागि प्रस्ताव गरेको जनाइएको छ । तर यस विषयमा उत्तर कोरियाका तर्फबाट कुनै जवाफ आएको छैन । उसको जवाफ बमोजिम नै वार्ता कहिले गर्ने भन्ने विषयमा थाहा हुने बताइएको छ ।

पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कमगर्ने उद्देश्यले सो वार्ताको प्रस्ताव गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यदि यो प्रस्ताव उत्तर कोरियाले मान्यो भने सन् २०१५ को अक्टोबर पछि पहिलो पटक दुवै देशका तर्फबाट परिवारहरुको पुनर्मिलन हुने छ । ती परिवारमध्ये सबैजनालाई नभएर छानिएका व्यक्तिलाई मात्र एक वा दुई दिनसम्म आफन्तसँग बस्न दिइने छ ।

कोरिया यद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यस लगत्तै जो जता परे त्यतै बस्नुपर्ने नियम बनेका कारण यी दुवै देशका ६० हजार भन्दा बढीको सङ्ख्याका नागरिक अलग भएका थिए ।

उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिणको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरु उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दक्षिण कोरियाको छ ।

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले केही महिना अघि दिनुभएको सार्वजनिक अभिव्यक्तिमा उत्तर कोरियाको कदम कोरियाली प्रायद्वीपका लागि मात्र नभएर विश्वकै लागि पनि शान्ति भङ्ग गर्ने खतरा हो भनेका  थिए ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफ्नो अमेरिका भ्रमणका समयमा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गरेको बताएका  थिए ।

उनले जापान र अमेरिकाका शीर्ष नेताहरूसँगकाे छलपफलमा यस बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?