जापानमा नेपालीको लगानी बढ्दै, नागोयामा फेरि अर्का नेपाली व्यावसायीले खोले सुपरमार्केट

नागोया । जापानमा नेपाली व्यावसायीले फेरि अर्को सुपरमार्केट सञ्चालनमा ल्याएका छन् । जापानको नागोयास्थित आस्था कुरोकुवान्चुमा एभरेष्ट सुपरमार्केट सञ्चालनमा आएको हो ।

जुलाई ७ बाट सञ्चालनमा आएको सुपरमार्केट एभरेष्ट इन्टरनेशनल ग्रुपले सञ्चालनमा ल्याएको हो । सुपरमार्केट सञ्चालनका अवसरमा आयोजित कार्यक्रममा एनआरएनका केन्द्रीय सदस्य एवं एनआरएन जापानका पूर्व अध्यक्ष पारशमणी पोखरेल, एनआरएन जापानका पूर्व अध्यक्ष ओम गुरुङ, साहित्य समाज जापानका अध्यक्ष विष्णुपसाद घिमिरे, एनआरएन जापानका सल्लाहकार केशर गिरी, व्यावसायी दिपक घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

करिब १२ करोडको लागतमा एभरेष्ट सुपरमार्केट सञ्चालनमा ल्याइएको प्रवन्ध निर्देशक निमा लामाले बताए । छ महिनाभित्र अर्कोसुपरमार्केट सञ्चालनमा ल्याइने लामाले बताए ।

कम्पनीले सन् २०२० को अलम्पिक सुरुहुनुपुर्व नै कम्तिमा छ वटा सुपरमार्केट सञ्चालनमा ल्याइसक्ने जनाएको छ । हाल सञ्चालनमा आएको एभरेष्ट सुपरमार्केटमा सबै प्रकारका खाद्य सामग्री राखिएको छ । ताजा तरकारी तथा फलफुलहरुको छुट्टै डिपो समेत राखिएको छ ।

सुपरमार्केटले खुद्रा तथा थोक मुल्यमा सामान खरिद गर्नेसक्ने व्यवस्था समेत मिलाएको छ । सुपरमार्केटमा अर्गानिक भेजिटेवल, चामल एवं खाद्यन्य समेत उपभोक्ताहरुले खरिद गर्न सक्ने छन् ।

सुपरमार्केटमा हाल १६ जना कर्मचारी रहेका छन् । यस अघि नागोयाकै ओबुमा पनि नेपालीद्वारा सञ्चालित सामिका ग्रुपले पनि सुपरमार्केट सञ्चालनमा ल्याएको थियो ।

जसमध्ये कम्तिमा ५० प्रतिशत कामदार नेपाली रहने सो सुपरमार्केटका कार्यकारी निर्देशक दिलिप रानामगरले बताए । हाल जापानमा नेपालीहरुले अत्याधिक रुपमा नेपाली इन्डियन रेष्टुरेन्ट संचालनमा ल्याएका कारण तिव्र प्रतिस्प्रधा भएको र रेष्टूरेन्ट व्यवशाय वाहेक अन्य विकल्प सोच्न पर्ने जानकारहरु वताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?