शरणार्थी आवेदन दिएकाले अब जापानमा काम गर्न नपाउने, काम गरेको पाइए सिधै जेल

टोकियो । जापानको कानुन तथा न्याय मन्त्रालयले आगामी महिनाबाट लागु हुने गरि भ्रमण भिषा र विद्यार्थी भिषामा रहेकाहरुले शरणार्थी आवेदन दिए उनीहरुको कार्यअनुमति रद्द गर्ने भएको छ ।

यी दुई प्रकारका भिषा भएकाहरुले शरणार्थीका लागि आवेदन दिएमा उनीहरुको वर्क परमिट बन्द गराउने र उनीहरुलाई बन्दी गृहमा राखि अनुसन्धान गरिने समेत मन्त्रालयले उल्लेख गरेको जापानी सञ्चार माध्यम योमिउरी सिनबुनले जनाएको छ ।

शरणार्थी आवेदन दिएर पनि काम गर्न पाउने सहज व्यवस्था भएका कारण यी दुई प्रकारका भिषामा जापान आएर शरणार्थी बन्न खोज्नेको संख्या अत्याधिक बढेकाले जापान सरकारले कडा नियम ल्याएको हो ।

अब शरणार्थी आवेदन दिएका कसैले पनि काम गर्न नपाउने र काम गरेको पाईए देशका विभिन्न १७ बन्दी गृहमा राखिने उल्लेख छ । यस अघि नै शरणार्थी आवेदन दिएर काम गर्ने अनुमति पाएकाहरुलाई पनि काम गर्न रोक लगाइने छ ।

जापानमै बस्न चाहनेहरुको संख्या बढ्नु र जापानमै रहनका लागि नक्कली शरणार्थी बन्ने परिपाटीको विकास भएको भन्दै जापान सरकारले कानुन संशोधन गर्दै नयाँ नियम ल्याएको हो । नक्कली शरणार्थी बनेर आवेदन दिनेमा सबैभन्दा बढी इन्डोनेसियन र दोस्रोमा नेपाली रहेको तथ्यांक छ ।

इन्डोनेसियाका १८२९ र नेपालका १४५१ ले शरणार्थीको आवेदन दिएर बस्दै आएका छन् । यस्तै फिलिपिन्सका १४१२ जना यसरी जापानमा बसीरहेको योमिउरी सिमबुनले जनाएको छ ।

यस्ता आवेदकहरु मध्ये विद्यार्थी सबैभन्दा बढी रहेको र पर्यटक भिषामा आउनेहरुपनि उल्लेख्य मात्रामा रहेको समाचारमा जनाइएको छ ।

आगामी महिनाबाट यो नियम लागु हुने भएपछि अब स्वदेश फर्कने वा भिषा परिवर्तन गर्ने दुई विकल्प प्रवासीहरुसँग रहने छ । भिषा परिवर्तन नगरी काम गरेको पाइएमा उनीहरुलाई बन्दी गृहमा राखिने र स्वदेश फर्काइने नियम बनाइएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?