उत्तर कोरियाले फेरि गर्यो एकै पटक चारवटा मिसाइल प्रहार

टोकियो । उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्ध र दबाबको बेवास्ता गर्दै फेरि क्षेप्यास्त्र परीक्षण गरेको छ । त्यो पनि एकै पटक चार वटा । बिहीबार बिहानै उत्तर कोरियाले एकै पटक चारवटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले दावी गरेको छ । पटक पटक जापान सागरमा परिक्षण गर्दै आइरहेको उत्तरको पछिल्लो तीन महिना यताकै सर्वाधिक परिक्षण हो । उसले बिहीबार गरेको परिक्षण चारवटा थियो ।

छोटो दुरीका ती क्षेप्यास्त्र दक्षिण कोरियालाई सजिलै निशाना बनाउन सक्ने र बढीमा जापानसम्म पुग्नसक्ने क्षमताको रहेको बीबीसीले जनाएको छ ।

अमेरिकी रक्षा अधिकारीहरुले पनि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण गरिएको पुष्टि भएको समाचार सार्वजनिक भएको छ । सिएनएनका अनुसार अमेरिकाले उत्तरको पछिल्लो गतिविधि पछि थप रणनीतिका लागि जापान र दक्षिण कोरियासँगको छलफललाई तिब्रता दिने तयारी गरेका छन् ।

ती अधिकारीका अनुसार तटीय क्षेत्र वोनसनबाट चारवटा क्षेप्यास्त्र परीक्षण गरिएको हो । ती क्षेप्यास्त्र झण्डै एक सय २५ माइलको दुरीमा खसेको दक्षिण कोरियाले जनाएको छ ।

संयुक्त राष्ट्र संघको प्रतिबन्धका बाबजुत पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । गत हप्ता मात्रै पनि जापानको प्रस्ताव, अमेरिका र चीनकोसमर्थनमा उत्तरमाथि थप प्रतिवन्ध लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?