योकोहामा आइपुगे अर्थ मन्त्री महरा, जापानमा यस्तो छ कार्यतालिका

योकोहामा । एसियाली विकास बैंक (एडिबी) सञ्चालक समितिको ५०औँ बैठकमा भाग लिन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा  योकोहामा  अाइपुगेका छन्। 

उपप्रधानमन्त्री महरा नेतृत्वको प्रतिनिधिमण्डललाई हेनेदा अन्तर्राष्ट्रिय विमानस्थलमा टोकियोस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले स्वागत गरे  ।

प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, सोही मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्याललगायत छन्र ।

उपप्रधानमन्त्री महराले आज जापानको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (जाइका)का उपाध्यक्षसँग आपसी हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम छ ।

आजै उनी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशका अर्थमन्त्रीहरुको बैठकमा सहभागी हुनेछन्र ।  उक्त बैठकमा भाग लिन सार्कका महासचिव अमजद हुसेन बी सियाललगायत सार्क सचिवालयका उच्च पदाधिकारी पनि योकोहामा आउँदै छन्र ।

बैठकमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा), अन्तरक्षेत्रीय व्यापार तथा लगानी प्रवद्र्धनलगायत विषयमा छलफल हुने सार्क सचिवालयका एकजना अधिकारीले  बताए ।

यसैबीच एडिबीका उच्च अधिकारीहरुको गएराति सम्पन्न बैठकमा नेपाललाई आगामी सन् २०३० सम्ममा मध्यम आययुक्त मुलुकका रुपमा स्तरोन्नति गर्न एडिबीलगायत विकासका अन्य साझेदारले सहयोगको मात्रा बढाउनुपर्नेमा नेपालले जोड दिएको छ ।

थाइल्यान्ड, म्यान्मा, सिङ्गापुर, ब्रुनाई, मलेसियाका उच्चअधिकारी सम्मिलित उक्त बैठकमा नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न तथा नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन आफूले आग्रह गरेको नेपाली प्रतिनिधिमण्डलका नेता अर्यालले जानकारी दिए ,

बैठकमा एडिबीको रणनीतिक साझेदारी र नीति, निजी क्षेत्रसँगको सहकार्य, दक्षिण एसियाको समृद्धिमा एडिबीको भूमिकाबारे पनि छलफल भएको उनले बताए ।

एसिया–प्रशान्त क्षेत्रको आर्थिक विकासमा सघाउने उद्देश्यले ५० वर्षअघि स्थापना भएको एडिबी बहुपक्षीय क्षेत्रीय बैंक हो । नेपाल एडिबीको संस्थापक सदस्य देश हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?