जापानी राजदुत ओगावा भन्छन्–नेपालको धरोहर पुनःनिर्माणमा सहयोग गर्न पाउनु जापानका लागि गौरव

काठमाडौं । जापान सरकारले भूकम्प पछिको पुनःनिर्माणमा नेपाललाई आर्थिक र प्राविधिक सहयोग दिइरहेको छ । यस अघि नै बसन्तपुर क्षेत्रको पुनःनिर्माणका लागि सहयोगको बचन दिइसकेको जापान सरकारले पाटन दरबार क्षेत्रको पुनःनिर्माणका लागि पनि ८० लाख रुपैयाँ बराबरको प्राविधिक तथा आर्थिक सहयोग गर्ने भएको छ ।
नेपालका लागि जापानका राजदूत मासी ओगावाले बिहीबार काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) का प्रमुख डा. रोहित रञ्जितलाई सहयोग रकम र उपकरण हस्तानान्तरण गरे ।

जापानको संस्कृती विभागले पुनःनिर्माणका लागि आवश्यक आधुनिक उपकरण र नगद उपलब्ध गराएको हो । जापान पछिल्लो समय पुनःनिर्माणका लागि आवश्यक पर्ने प्राविधिक सहयोग गर्ने देश मध्ये अग्र स्थानमा छ ।

केभीपीटीले पाटन दरबार क्षेत्रमा रहेका कृष्ण मन्दिर, चारनारायण मन्दिर, भिस्वेस्वरा मन्दिर र मनि मण्डपको निर्माणका लागि आवश्यक उपकरण जापानबाट प्राप्त भएको जनाएको छ ।

उपकरण हस्तानान्तरण कार्यक्रममा राजदूत ओगावाले सांस्कृतिक समानता रहेको मित्रराष्ट्र नेपाललाई जापान सदैव सहयोग गर्न तयार रहेको बताए । राजदुत ओगावाले महाभूकम्पले क्षतिग्रस्त सम्पदा पुरानै अवस्थामा निर्माण गर्न जापान सरकारले अगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने बताए ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले महाभूकम्पमा क्षतिग्रस्त सम्पदाको निर्माण कार्यको निर्माणमा परम्परागत र पुरातत्व विभागकै निर्देशिका अनुसार निर्माणमा केभीपीटी सक्रिय रहेको बताएका थिए ।

केभीपीटीका प्रमुख रञ्जितले सम्पदा पुनःनिर्माण हतारमा नभई गुणस्तरीय बनाउन सक्रीय रहेको जानकारी दिए । उनले भत्किएका सम्पदालाई आधार बनाएर सोही अनुसारको निर्माणमा केभीपीटी सक्रिय रहेको जानकारी दिए ।

उनले भने ‘निर्माणमा समय कति लाग्यौं भन्दा पनि हामी कति दिर्घकालिन, पुरातात्विक मान्यता र बलियो संरचना निर्माण गर्छौ त्यो विशेष हो।’
जापान सरकारका तर्फबाट ७७ हजार आठसय पाँच अमेरिकी डलर बराबर सहयोग उपलब्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?