अमेरिकाले भन्यो–जापान र दक्षिण कोरियाको साथ चाहियो, हामी लड्दै छौं

टोकियो । अमेरिकी उपराष्ट्रपति माइक पेन्स एसियाली मुलुकहरुको दश दिने भ्रमणको क्रममा दक्षिण कोरियाको राजधानी सोल पुगेका छन् ।
उत्तर कोरियाले छोटो छोटो समयको अन्तरमा क्षेप्याश्त्र परीक्षणलाई धमाधम निरन्तरता दिई चीन, जापान तथा कोरियाली प्रायव्दीप क्षेत्रमा तनाव बढ्दै गैरहेका बखत उनले एसिया भ्रमण शुरु गरेका हुन् ।

यसै सिलसिलामा, सिरियामा बिद्रोहीहरुको आन्दोलन दबाउन बसार अल असदको सरकारले बिद्रोही उपर प्रतिबन्धित, मानव घातक रासायनिक हतियार प्रयोग गरी आक्रमण गरेको पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा क्षेप्याश्त्र प्रहार गर्ने आदेश दिने केही कठोर निर्णय लिएका छन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर म्याकमास्टरले आफ्नो राष्ट्र तथा अमेरिका निकटका मित्र राष्ट्रहरुका राष्ट्रिय हितका लागि राष्ट्रपति ट्रम्पले कुनै पनि अप्रिय निर्णय लिन असहज मान्नु नहुने प्रष्ट भएको भन्ने टिप्पणी गरे भएपश्चात् परिस्थिति अध्ययनका लागि उपराष्ट्रपति माइक पेन्स एसियाली मुलुकहरुको भ्रमणमा निस्कीएका हुन् ।

वर्तमानमा, निशंकोच अटेरी गर्दै उत्तर कोरियाले छोटो अवधिको अन्तरमा निकै छाडा तौर तरिकाबाट आणविक हतियार र अन्तरमहादेशीय ब्याल्लिस्टिक क्षेप्याश्त्र परीक्षणलाई धमाधम निरन्तरता दिइरहेको परिप्रेक्षमा उत्तर कोरियाको यस्तो अवान्छित रणनीतिक गतिबिधिलाई लक्ष गर्दै उपराष्ट्रपति पेन्सले रणनीतिक धैर्यताको युग समाप्त भएको भन्ने टिप्पणी गरेका छन् ।

उत्तर तथा दक्षिण कोरियाबीचको बिभाजन रेखा नजिक दक्षिण कोरियापट्टि अवस्थित शून्यसैनिक क्षेत्रमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पेन्सले अमेरिका तथा यसका मित्रराष्ट्रहरुले कोरियाली प्रायव्दीपमा शान्तिका लागि निकै लामो समयसम्म धैर्यतापूर्वक प्रतीक्षा गरिरहेकामा धैर्यताको सीमा नाघि सकेको बताए ।

उनले अब यस क्षेत्रमा शान्ति बहालिका लागि अमेरिकाले यथोचित कदम अघि बढाउन सक्ने चेतावनी दिदै त्यसका लागि जापान र दक्षिण कोरियाले पुर्ण साथ दिने बताए ।

त्यस्तै, यस बिषयमा चीनसँग राष्ट्रपति ट्रम्पले सौहार्द्र कुराकानी गरेको र उत्तर कोरियाको आणविक हतियार भण्डारण नष्ट गर्न दबाब दिन चीनको असाधारण सहयोग र योगदानको अपेक्षा गरेको समेत उपराष्ट्रपति पेन्सले खुलासा गरे ।

डिमिलिटराइज्ड जोनबाट साँढे दुई माइल टाढा क्याम्प बोनिफासमा अवस्थित दक्षिण कोरियाली तथा अमेरिकी संयुक्त सैन्य शिबिरको भ्रमण गरी त्यहाँ कार्यरत अमेरिकी सैनिक अधिकृतहरुसँग भलाकुसारी गर्दै उपराष्ट्रपति पेन्सले दक्षिण कोरिया र अमेरिका दुई अभिन्न मित्र बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?