जापानमा रहेका नेपालीले गाउँका लागि स्थापना गरे १ करोडको अक्षय कोष

बागलुङ ।  रोजगारीका क्रममा जापान पुगेका बागलुङको काठेखोला गाउँपालिका– ५ र ६ बिहुँकोटबासीले गाउँमा एक करोडको अक्षयकोष स्थापना गरेक छन् ।

शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक कार्यमा सघाउने उद्देश्यले सो कोषको स्थापना गरिएको हो । काठेखोला गाउँपालिका– ५ मा एक कार्यक्रमबीच उक्त कोषको घोषणा गरिएको बिहुँकोट समाज जापानका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिए ।

सो अवसरमा अध्यक्ष सुवेदीले जापान समाज बिहुँकोटका अध्यक्ष गौरीशङ्कर शर्मालाई रु एक करोड बराबरको ‘चेक’ हस्तान्तरण गरे । जापानमा रहेका बिहुँकोटबासीबाट आर्थिक सहयोग जुटाएर सो कोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताए ।

‘शिक्षा, स्वास्थ्यलगायत सामाजिक कार्यमा सघाउ र्पुयाउन कोष स्थापना गरिएको हो’ अध्यक्ष सुवेदीले भने, ‘जापानमा रहेका सबै बिहुँकोटवासीको यसमा ठूलो योगदान छ ।’

बिहुँकोटमा रहेको जापान समाज बिहुँकोटले अक्षयकोष सञ्चालन गर्नेछ । अक्षयकोषबाट प्राप्त हुने वार्षिक ब्याज रकमबाट विभिन्न कार्य गरिने समाजका अध्यक्ष गौरीशङ्कर शर्माले बताए । काठेखोला गाउँपालिका– ५ र ६ लाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको जनाइएको छ ।

‘बिहुँकोट क्षेत्रको विकासका लागि कोष रकम परिचालित हुन्छ’ अध्यक्ष शर्माले भने, ‘शिक्षा, स्वास्थ्य र भइपरी आउने विपद् व्यवस्थापनमा पनि सहयोग गर्ने योजना छ ।’

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले प्रवासमा रहेर पनि आफ्नो गाउँको विकासमा सक्रिय रहनु प्रशंसनीय कार्य भएको बताए ।

‘आफ्नो जन्म गाउँ र स्वेदशको विकासमा लागि प्रवासमा रहेका नेपालीको ठूलो देन छ’ उनले भने, ‘यस्ता कल्याणकारी सामाजिक कार्यको सबै क्षेत्रले अनुसरण गर्नु आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?