भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा कुमामोटोमा विशेष कार्यक्रम

जापान । जापानको कुमामोटो क्षेत्रमा एक वर्ष अघि गएको भूकम्पमा मारिएका नागरिकहरुको सम्झनामा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जापानी प्रधानमन्त्री शिन्जो आवे, कुमामोटो क्षेत्रका गभर्नर कावाशिमा लगायत भूकम्पमा मारिएका मानिसका आफन्तहरु उपस्थित थिए ।
एक वर्ष अघि कुमामोतो क्षेत्रमा गएको भूकम्पमा २२५ जनाको मृत्यु भएको थियो भने २० हजार घरहरु ध्वस्त भएका थिए ।भूकम्पका कारण ४७ हजार जापानीहरु घरवार विहिन भएका थिए । उनीहरु आज पनि अस्थाई आवासक्षेत्रमा बसोवास गरिरहेका छन् ।

भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा आयोजित कार्यक्रममा आफ्ना धारणाहरु राख्दै प्रधानमन्त्री आवेले भूकम्पले क्षति भएका आवास तथा विभिन्न क्षेत्रहरुको पुनर्निर्माणका लागि जापान सरकारले जस्तो सुकै सहयोग गर्न तयार भएको बताएका छन् ।

भूकम्पमा मारिएका परिवारहरुको प्रतिनिधित्व गर्दै मायामी तोमिनागाले भूकम्पका कारण परिवारमा पीडादायी नैराश्यता छाएको र भविष्यमा निराशाबाट माथि उठ्ने शक्ति सबै आफन्त र परिवारजनलाई मिल्नेछ भन्ने आशा व्यक्त गरेकी छिन् ।

साथै उनले सरकारले कुमामोटो क्षेत्रलाई पहिलेको जस्तै गरि पुनर्निर्माण गरिदिए स्थानीय वासिन्दाहरुको अनुहारमा फेरी खुसि छाउने विश्वास समेत व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?