
काठमाडौं । विगतका विभिन्न निर्वाचनहरुमा मतपेटिका उपलब्ध गराउँदै आएको जापान सरकारले यो पटकको निर्वाचनका लागि मत पेटिका दिन नसक्ने जवाफ दिएको छ ।
स्थानीय निर्वाचनमा राजनीतिक दलहरुको संख्या र उम्मेदवारहरुको संख्या धेरै हुने भएकाले ८० लिटर क्षमताका मतपेटिका आवश्यक रहेको र आयोगसँग थोरै मात्र ती आकारका मतपेटिका भएकाले विकल्पको खोजि थालेको हो ।
आयोगलाई २५ हजार थान थप मट पेटिका आवश्यक रहेको छ । हाल आयोगसँग २० हजार मात्र ८० लिटर क्षमताको मतपेटिका रहेको छ ।
जापानी दूतावासले समय छोटो भएको भन्दै मटपेटिका उपलब्ध गराउन प्राविधिक जटिलता हुने जवाफ दिएको छ । जापानले विकल्पहरुको पनि खोजि गर्न आयोगलाई सुझाव दिएको छ ।
अघिल्ला चुनावहरुमा पाँच महिना पहिला नै मतपेटिका माग गर्ने गरिएकोमा अहिले जम्मा ७५ दिन मात्र बाँकी छ ।
निर्वाचन आयोगले अब जापानबाट मतपेटिका उपलब्ध हुन नसके युएनडीपीसँग सहयोग माग्ने र त्यो पनि नभए डेण्डर आह्वान गर्ने तयारी थालेको छ ।