जापानमा ‘नेशनल युथ लिडर अवार्ड’ बाट सम्मानित थापालाई समुदायको सम्मान

टोकियो । योकोहामा स्थित कानागावा नेपाली समुदायले ‘नेशनल युथ लिडर अवार्ड’बाट सम्मानित जिज्ञान कुमार थापालाई सम्मान गरेको छ ।

जापानमा आठौं पटक आयोजना गरिसकिएको सो अवार्डबाट सम्मानित हुने पहिलो विदेशी नेपाली भएको खुशियालीमा समुदायले सम्मान गरेको हो ।

जापानमा रहेर विभिन्न सामाजिक काममा योगदान गरेवापत प्रदान गरिने ‘नेशनल युथ लिडर अवार्ड’बाट थापा सम्मानित भएकोमा समुदायले सम्मान गर्न पाएकोमा अध्यक्ष हरी सापकोटाले खुशी व्यक्त गरे ।

सो सम्मान कार्यक्रममा समुदायका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ, सचिव राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

डेभलपमेन्ट एसोसिएशन फर युथ लिडर्स नामक संस्थाले जापानलाई अन्तर्राष्ट्रियकरण गर्न तथा गैरसरकारी संस्था मार्फत सामाजिक कार्यमा योगदान दिएको भन्दै थापा लगायत अन्य पाँच जापानी नागरिकलाई मंगलबार एक समारोह मार्फत ‘युथ लिडर अवार्ड’ बाट सम्मान गरेको थियो ।

भूकम्प प्रभावित नेपाली बालवालिकाको शिक्षा सहयोगका लागि ‘तामागो’ लगायतका विभिन्न सामाजिक कार्यक्रम गरि नेपाल र जापानको सम्वन्ध मजबुत बनाउन ठूलो भूमिका खेलेका थापा जापानी नागरिकहरू बीच निक्कै प्रशंसनीय बनेका छन ।

समुदायको सल्लाहकार समेत रहेका थापा लामो समय देखि कानागावा केनमा वसोवास गर्दै आईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?