जापानमा क्रियाशील पत्रकारहरुलाई महासंघको सदस्यता लिन आबेदन खुल्ला

टोकियो । नेपाल पत्रकार महासंघको जापान शाखाले जापानमा पत्रकारिता गरिरहेका तर महासंघको सदस्यता लिईनसकेका पत्रकारहरुका लागि नयाँ सदस्यता लिन आबेदन खुल्ला गरेको छ ।

केन्द्रिय महाधिवेशन नजिकै आईरहेको परिप्रेक्ष्यमा महासंघको सदस्यता प्राप्तिको कार्यबिधि बमोजिम पर्याप्त समय नभएकोले यहि फेब्रुवरी महिना भित्र रितपूर्वकको निबेदन र लाग्ने सदस्यता शुल्क ५ हजार येन सहित आवश्यक कागजातहरु सबै संलग्न राखी बुझाउन जापान शाखाले आह्वान गरेको हो । आबेदन महासंघको जापान शाखाका पदाधिकारीलाई बुझाउन अनुरोध गरिएको छ ।

तोकिएको मितिभित्र प्राप्त आबेदनहरु आवश्यक छानबिन गरी महासंघको केन्द्रिय कार्यालयमा पठाईने र केन्द्रले आवश्यक प्रक्रिया पुरा गरी सदस्यता प्रदान गर्ने प्रावधान रहेको छ ।

महासंघको केन्द्रसंग गरिएको बिशेष अनुरोधमा बिशेष परिस्थितिमा पत्रकार सदस्यताका लागि आबेदन खुल्ला गरिएको हुँदा समयाभावका कारण केन्द्रीय महाधिवेशन अगावै सदस्यता जारी हुने वा नहुने भने केन्द्रमै निर्भर रहने छ ।

पत्रकार सदस्यता लिन बाँकी जापानमा क्रियाशील पत्रकारहरु महासंघको सदस्यता लिई जापान शाखामा आबद्ध हुन
र यसअघि जिल्ला वा एसोसियट संस्थाबाट सदस्यता लिईसकेका पत्रकारहरुले पनि उक्त मितिभित्रै जापान शाखामा स्थानान्तरण गर्न अपिल गरिएको छ ।

महासंघको नयाँ सदस्यताका लागि आबेदन फारमसंगै आवश्यक पर्ने निम्न कागजातहरु संलग्न गर्नुपर्ने बताईएको छ ।
१. शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी
२. कार्यरत मिडिया संस्थाको नियुक्ति पत्रको प्रमाणित प्रतिलिपी
३. अनुभव खुल्ने सिफारिश पत्र
(शैक्षिक योग्यता एसएलसी भए ३ वर्षको, प्रमाणपत्र भए २ वर्षको, स्नातक वा सो भन्दा माथिको भए १ वर्षको)
४. रेसिडेन्स कार्डको प्रतिलिपी
५. गएको वर्षमा प्रकाशित, प्रसारित समाचार सामग्रीको प्रतिलिपी

स्मरण रहोस् महासंघको केन्द्रिय महाधिवेशन आगामी मे को पहिलो साता हुँदै छ भने सो भन्दा अगावै जिल्ला शाखा, बैदेशिक शाखा र एसोसियट संस्थाहरुको अधिवेशन गरिसक्नुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?