जापानमा ८ वर्ष देखि बेपत्ता सविनाको स्थिति अझै सार्वजनिक नहुँदा परिवार पीडामा

जापानमा अध्ययनको लागि आएकी नेपालकी सविना महर्जन ८ वर्ष देखि बेपत्ता भएकोले उनको स्थिति सार्वजनिक गर्न परिवारले आग्रह गरेको छ । ललितपुर- ३ पुल्चोक कि सविना जापानी भाषा अध्ययनको लागि जापान आएकी थिईन् ।

त्यतिवेला फुकोओकामा बस्ने गरेकी सविनाको स्थिति बारे त्यहाँको स्थानीय प्रहरीले खोजतलास गरेको थियो । फुकोओकाको मिनामी वार्डमा सविना बस्ने गरेको प्रहरीले बताएको थियो ।

सन् २०१३ अक्टोवर १३ मा सविनाका बुबा सानुलाल महर्जनले जापानमा रहेको नेपाली राजदूतावासमा निवेदन दिएका थिए ।

त्यतिवेला सविनाकी दिदी तथा विभिन्न राजनैतिक पार्टीहरुको सहयोगले सविनाको स्थिति सार्वजनिक गर्न सबै पक्षसंग अनुरोध गरिएको थियो । हजारौ प्रयासहरु गर्दा पनि सविनाको स्थिति अहिले सम्म गुमनाम नै रहेको छ ।

अनुसन्धानको क्रममा पाईएको बयान अनुसार सविना २००८ मा जापानको एशिया जापानिज एकेडेमीमा पढ्न गएकी हुन् ।

२००८ अगष्ट २७ तारिखमा सविना स्कुलमा नदेखिए पछि उनलाई स्कुलका स्टाफले फोन गर्दा उनले आफ्नो साईकल पन्चर भएको हुनाले आफू स्कुल आउन ढिलो हुने बताएकी थिईन भन्ने स्रोतले खुलाएको छ ।

त्यसपछि उनलाई सम्पर्क गर्न खोज्दा उनि सम्पर्कमा नआएको बताईएको थियो । अगष्ट २६ सम्म सविना संग सम्पर्क भएको र अवस्था बुझ्दा सबै ठिक भएको जवाफ आएको तर अगष्ट २८ मा उनलाई सम्पर्क गर्दा उनको फोन नउठेको बताईएको थियो ।

साथै फोन नउठिसकेपछि अगष्ट ३१ मा सविनाकी साथी सविना बस्ने गरेको कोठामा जाँदा उनको कोठा बन्द भएको खुलेको थियो ।

त्यसपछि स्कूलले जापानी प्रहरीलाई सम्पर्क गरि सविनाको कोठाको छानविन तथा तलासी गरेको थियो । पुलिसले तलासी गर्दा उनको कोठामा बेड, टेबल बाहेक अरु सबै सामान गायब भएको र सविनाले चढ्ने साईकल पनि हराएको देखिएको थियो ।

आज अर्थात सविना बेपत्ता भएको झन्डै ८ वर्ष सम्म पनि उनको अवस्था सार्वजनिक भएको छैन । हाल सविना महर्जन कि बुबा जापानमा नै हुनुहुन्छ । सविनाकी बुबा लगायत परिवारले पटक पटक जापान प्रहरीलाई खोजविनको लागि अनुरोध गरेको तर ८ वर्ष सम्म पनि त्यसको कुनै प्रतिफल ननिस्किएको परिवारले बताएको छ ।

परिवारले यति वर्ष सम्म पनि सविनाको अवस्था सार्वजनिक गर्न नसक्नुमा जापानी प्रहरीको कार्यक्षमता तथा उनीहरुको रवैया प्रति नै प्रश्न उठाएका छन् ।

नेपालकी छोरी सविना अर्थात एक नेपाली नागरिक जापानमा बेपत्ता हुँदा जापानमा रहेको नेपाली दूतावासले के हेरेर बसिरहेको छ ? भन्ने प्रश्न पनि यतिवेला सविनाको परिवारले गरिरहेको छ ।

विदेशमा खुलिने दूतावासहरुले आफ्ना नागरिकको सूचना तथा जानकारी राख्न सक्दैन भने त्यस्ता दूतावासहरुको उपस्थिति आखिर किन र के का लागि भन्ने गहन सवाल पनि सविनाको घटनाले उठाईदिएको छ ।

८ वर्ष देखि परिवारले कहाँ छिन सविना भनेर सोध्दा आफ्नै भनेको जापानमा रहेको नेपाली राजदूतावास आगामी दिनमा कस्तो सहयोग गर्ला ?  त्यसको जवाफ कति दिन सम्म सविनाको परिवारले प्राप्त गर्ला ? त्यो भने प्रतिक्षाको विषय नै बन्न गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?