यसरी सम्भव भयो ७५ वर्ष पछि अमेरिकासँग जापानको पुनर्मिलन

हवाई । अमेरिकी राष्ट्रपति बाराक ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आबेले पर्ल हार्बरको सँगै भ्रमण गरेर बुधबार आक्रमणमा मारिएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । अमेरिकाको हवाई राज्यको वआहे टापुमा अवस्थित पर्ल हार्बर त्यो ठाउँ हो, जहाँ १९४१ डिसेम्बर ७ मा जापानले गरेको आक्रमणमा परी करिब २ हजार ३ सय अमेरिकी नौसेनाको मृत्यु भएको थियो ।

प्रधानमन्त्री आबेले ७५ वर्षअघि आफ्नो मुलुकले आक्रमण गरेको उक्त स्थानको भ्रमण गर्दै ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण पनि गरे ।

ओमाबाले जापानी प्रधानमन्त्री सिन्जो आबेको यो भ्रमणलाई ‘ऐतिहासिक संकेत’ भएको बताएका छन् । पर्ल हार्बरस्थित अमेरिकी नौसेनाको केन्द्रमा आयोजित कार्यक्रममा प्रधानमन्त्री आबे र राष्ट्रपति ओबामा एक साथ उपस्थित थिए । पर्ल हार्बरमा एक साथ अमेरिकी र जापानी नेताहरूको भ्रमण यो पहिलोपटक हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री आबेले युद्धको त्रासदी अब कहिल्यै दोहोरिनुहुन्न भन्ने जापानी जनताले कसम खाएको बताए ।
दोस्रो विश्वयुद्धको बेला जापानले पर्ल हार्बरमा आक्रमण गरेपछि १९४५ मा अमेरिकाले जापानी सहरहरू हिरोसिमा र नागासाकीमा आणविक आक्रमण गरेको थियो । हिरोसिमा, नाकासाकीमा आक्रमणमा डेढ लाख व्यक्ति मारिएको विश्वास गरिन्छ ।

ओबामा पर्ल हार्बर भ्रमण गर्ने पहिलो बहालवाला राष्ट्रपति हुन् ।जापानको उच्च नेताका रूपमा आक्रमणको ९ वर्षपछि जापानका पूर्वप्रधानमन्त्री सिगेरु योसिदाले १९५१ मा पर्ल हार्बरको छोटो भ्रमण गरेका थिए ।

उक्त स्थानमा दुवै देशका राष्ट्र प्रमुखले एकै पटक भ्रमण गरी घटनामा ज्यान गुमाउने अमेरिकीप्रति यसपालि सँगै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

करिब ६ महिनाअघि ओबामाले अमेरिकाद्वारा जापानको हिरोसिमा र नागासाकी सहरमा आक्रमण गरी करिब २ लाख मानिसको मृत्यु हुने गरी गरेको आक्रमण स्थलको पनि भ्रमण गरेका थिए । ओबामाले हिरोसिमा भ्रमणका क्रममा आक्रमणप्रति क्षमायाचना गरेका थिएनन् । जापानी प्रधानमन्त्री आबले पनि पर्ल हार्बरमा क्षमायाचना गरेनन् ।
यसैबीच, चीनले आबेको यस भ्रमणलाई लिएर हमलाको दोषबाट मुक्त हुन गरिएको एउटा निष्ठाहीन प्रयास भनेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले ‘जापानले दोस्रो विश्वयुद्धका बेला गरेको अपराधको ऋण चुकाउने प्रयास भए पनि जापानले दोस्रो विश्वयुद्धमा गरेका अपराध उसले चीनलगायत दोस्रो विश्वयुद्धबाट पीडित अन्य एसियाली राष्ट्रसँग पुनर्मिलन नगर्दासम्म अपराधबाट उन्मुक्ति मिल्नेछैन’ भनेका छन् । स्रोतः कान्तिपुर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?