जापान आएर एमाले नेता गुरुङले भने – विदेशमा राजनीति नगर्नुस्, मिलेर बस्नुस्

टोकियो । जापान आएका नेकपा एमालेका नेता किरण गुरुङले संविधान संशोधन गर्न नहुने कुरामा जोड दिएका छन् । एमाले स्थायी समितिका सदस्य एवं प्रस्तावित प्रदेश नं ४ का ईन्चार्ज समेत रहनुभएका नेता गुरुङले जनताका ९० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी जारी गरिएको संविधानलाई संशोधन गर्ने अधिकार हालको रुपान्तरित संसदलाई नभएको बताए ।

संशोधन गर्ने भन्दा पनि जनताको सर्वोच्चतालाई स्वीकार गर्दै संविधानको कार्यान्वयनमा जानु अहिलेको मुख्य कार्यभार भएको बताएका छन् ।

संविधान संशोधन गर्ने अधिकार अब हुने निर्बाचनबाट दुई तिहाई बहुमत प्राप्त संसदलाई मात्र भएको बताएका छन् । त्यसकारण पनि नेकपा एमाले संविधान संशोधनको विरुद्दमा रहेको गुरुङको दावी रहेको छ  ।

टोकियोमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता गुरुङले राजनीति गर्न मन छ भने नेपालमै आएर गर्नुपर्ने बिदेशमा  नेपालीहरु मिलेर बस्नुपर्ने बताएका छन् ।

गुरुङले वर्तमान सरकारको औचित्य सकिएको भन्दै काम गर्न नसक्ने सरकारले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा अगाडि सारेका छन् । उनले मधेश केन्द्रित दलहरुलाई समेत आश्वस्त पारेर एमालेले संविधान कार्यान्वयन गर्ने धारणा समेत व्यक्त गरेका छन् ।

पूर्वमन्त्री समेत रहनुभएका नेता गुरुङ नेकपा एमालेको जापानस्थित भ्रात्तृसंगठन प्रवासी नेपाली मञ्चको गत साता भएको २० औं अधिवेशनमा भाग लिन जापान आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?