
जापान । जापानी परिकार कस्तो होला ? जापानका साँस्कृतिक नृत्यहरु कस्ता होलान् ? जापानको लोक संस्कृति कस्तो होला ? नेपालीमा पछिल्लो समय आकर्षक मुलुकका रुपमा रहेको जापानबारे विभिन्न चासो र जिज्ञासा हुने गरेका छन् ।
अब नेपालीहरुले काठमाडौंमै जापानी परिकार चाख्दै त्यहाँको सांस्कृतिक नृत्य हेर्न पाउने भएका छन् । नेपाल र जापानको कूटनीतिक सम्बन्धको ६० औं वर्ष पुगेको अवसरमा जापानी दूतावास र टीवीआई ग्रुपले राजधानीको टुडिखेलमा जापान फेष्टिवल–२०१६ को आयोजना गर्ने भएको हो ।
बिहिवार राजधानीमा पत्रकार सम्मेलन गरि जापानिज एसोसियसन तथा एनआरएन जापानसँगको सहकार्यमा आगामी मंसीर १९ गते फेष्टिवलको आयोजना हुने जानकारी गराइएको हो ।

जापानको संस्कृतिबारे नेपालीहरुलाई जानकारी गराउने र दुइ देशको सम्बन्ध विस्तार गर्ने उद्देश्यले फेष्टिवल आयोजना गरिने आयोजकले जनाएका छन् ।
प्रर्दशनीमा जापानी परिकारका स्टलहरुका साथमा जापानी नृत्य तथा विभिन्न खेलहरु प्रदर्शन गरिने आयोजकले बताएका छन् ।