संविधान जारि भएको दिनलाई कालो दिन भन्दै जापानमा पनि विरोध

जापान । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको जापानमा रहेको प्रवासी संगठन नेपाली जनप्रगतिशील समाज जापानद्वारा असोज ३ लाई कालो दिनको रुपमा चित्रित गर्दै विरोध गरेको छ ।

नेपाली जनताले जनयुद्द र जनआन्दोलन मार्फत दिएको भावना अनुसार संविधान नबनेको र पुरानै सत्तालाई मजवुत बनाउने गरि संविधानको निर्माण भएको भन्दै समाजले विरोध गरेको हो ।

समाजका संयोजक दिनेश शाही द्वारा जारि विज्ञप्तिमा पहिलो संविधान सभालाई देशी तथा विदेशी प्रतिक्रियावादी तथा विस्तारवादीहरुको षड्यन्त्रमा विघठीत गरिएको आरोप लगाईएको छ ।

त्यस्तै दोस्रो संविधान सभाको निर्वाचनलाई समाजले राजतन्त्रको अन्त्य संगै त्यसको स्थानमा दलाल नोकरशाह पुँजीवाद जनयुद्दमा पराजित संसदीय दलहरुलाई अघि सारेर भारतीय विस्तारवादले संविधान सभा २ को नाटक गरेको आरोप लगाएको छ ।

असोज ३ को विरोध गर्नुको कारण बारे समाजले जारि गरेको विज्ञप्तिमा भनिएको छ, “असोज ३ गते जसले नेपालमा फेरी पुरानो सत्ता र प्राणालीको अभ्यास गराउने वातावरण सिर्जना गरिदियो त्यस दिनलाई हाम्रो पार्टी तथा संगठनले इतिहासको कालो दिनको रुपमा चित्रित समेत गरेको छ ।

जनयुद्द र जनआन्दोलनमा जनताले पराजित गरेका शक्तिकेन्द्रहरुको नेतृत्वमा निर्मित संविधान २ ले मुक्तिकामी जनसमुदायको हित नगर्ने भएको हुँदा त्यसको विरोध गर्न जरुरि देखिन्छ ।”

विज्ञप्तिको पूर्ण पाठ

प्रेस विज्ञप्ती

विगतमा नेपाली जनताले पटक पटक गरेको राजनैतिक आन्दोलन क्रान्ति मार्फत पहिलो पटक २०६४ सालमा जनयुद्द र जनआन्दोलनको प्रतिनिधित्व हुने खालको संविधान सभा निर्माण भएको थियो ।

त्यो संविधान सभा पुर्खाहरुले आफ्नो रगत र पसिनाले आर्जित गरेको र जनताको प्रतिनिधित्व सहित बनेको थियो । त्यो संविधान सभा देशी तथा विदेशी प्रतिक्रीयावादी तथा विस्तारवादीहरुको षड्यन्त्रले विगठीत गरिएको थियो ।

प्रगतिशिल पार्टी र नेतृत्व तथा उत्पीडत समुदायको धेरै प्रतिनिधित्व भएको संविधान सभा १ मार्फत संविधान निर्माण भए नेपालमा क्रान्तिकारी भूमिसुधार, स्थानीय स्वशासन सहितको संघियता लागु गर्दै पुरानो सामन्ती सत्ता पूर्ण रुपमा ध्वस्त पार्दै नयाँ संविधान सहितको नयाँ सत्ता निर्माणको बाटोमा नेपाल अघि बढ्ने स्पष्ट देखिसकेपछि क्रान्तिकारी पार्टी भित्रकै नेतृत्वको एउटा विदेशी लवी र देशी विदेशी प्रतिक्रियावादी तथा साम्राज्यवादीहरुको षड्यन्त्रमा पहिलो संविधान सभा विघटित गरिएको थियो ।

राजतन्त्रको अन्त्य संगै त्यसको स्थानमा दलाल नोकरशाह पुँजीवाद जनयुद्दमा पराजित संसदीय दलहरुलाई अघि सारेर भारतीय विस्तारवादले संविधान सभा २ को नाटक सिर्जना गरेको जिउँदो यथार्थ पनि हामी माझ ताजै छ ।

वास्तविक संविधान सभालाई हत्या गराएर पुरानो सत्ता लाद्नको निमित्त वास्तविक माओवादीहरुलाई थुनुवा पुर्जी वारेन्ट जारि गरेर संविधान सभा २ को नाटक मन्चन गरियो । पुरानो शाही सेना अर्थात वर्तमान नेपाल सेनाको घेरावन्दीमा तथाकथित संविधान सभाको निर्वाचन गरियो । माओवादी विनाको संविधान सभाको निर्वाचनमा पुरानै सत्ताका हिमायतीहरुको विजयी हुनु निश्चित जस्तै थियो । संसदीय प्रजातन्त्र र दलाल नोकरशाह पुँजीवादको संयुक्त योजनामा नेपालमा असोज ३ गते जवर्जस्त संविधान जारि गरियो । त्यहि असोज ३ गते जसले नेपालमा फेरी पुरानो सत्ता र प्राणालीको अभ्यास गराउने वातावरण सिर्जना गरिदियो त्यस दिनलाई हाम्रो पार्टी तथा संगठनले इतिहासको कालो दिनको रुपमा चित्रित समेत गरेको छ ।

जनयुद्द र जनआन्दोलनमा जनताले पराजित गरेका शक्तिकेन्द्रहरुको नेतृत्वमा निर्मित संविधान २ ले मुक्तिकामी जनसमुदायको हित नगर्ने भएको हुँदा त्यसको विरोध गर्न जरुरि देखिन्छ । हरेक वर्गले आफ्नो वर्ग र सत्ताको रक्षाको निम्ति आफु अनुकुल संविधान निर्माण गर्ने भएको हुँदा क्रान्ति द्वारा पराजित वर्गको नेतृत्वमा बनेको संविधानलाई स्वाभिमान क्रान्तिकारी जनसमुदायले विरोध गर्नु उसको कर्तव्य हुन जान्छ  ।  त्यस कारण हाम्रो संगठन सरकारले असोज ३ गते घोषणा गरेको संविधानलाई कालो दिनको रुपमा चित्रित गर्दै विरोध गर्दछौं ।

……………….

दिनेश शाही

संयोजक

नेपाली जनप्रगतिशील समाज, जापान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?