जापानको विकास मोडल नेपालका लागि सबैभन्दा उपयुक्त : भट्टराई

जापान । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले जापानी विकासको मोडल नेपाल विकासको आधार हुनसक्ने बताएका छन् ।

जापान भ्रमणमा रहेका संयोजक भट्टराईले आफु मुलुकको कार्यकारी पदमा पुगिसकेकाले पदको कुनै लोभ नभउको तर विकासका लागि आफु सहकार्य गर्न तयार रहेको पनि बताएका छन् ।

नेपाल पत्रकार महासंघ जापानले आयोजना गरेको अन्तरक्रियामा भट्टराईले जापानी विकासको मोडलमा नेपालको विकास गरिनुपर्ने बताए । उनले देश विकासका लागि आफूलाई समर्पित गरेको बताउँदै दक्षिण कोरिया र जापानले गरेका आर्थिक प्रगतिका बारेमा अध्ययन गर्न यहाँ आएको बताए ।

उनले कोरिया र जापानले छोटो समयमा आर्थिक क्रान्ति सम्भव तुल्याएको बताउँदै ति देशहरुको मोडलमा नेपालमा पनि योजना तर्जुमा गरिनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ जापानले आयोजना गरेको कार्यक्रममा भट्टराईलाई जापानमा रहेका नेपालीहरुले मुलुकको आर्थिक विकासका लागि खेल्न सकिने भुमिकाका बारेमा विभिन्न जिज्ञासा राखेका थिए ।

पत्रकार महासंघ जापानका सभापति तिलकबम मल्लको सभापतित्वमा भएको अन्तरक्रियामा जापानमा रहेर पत्रकारिता गर्दै आएका पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

संयोजक भट्टराईले एनआरएन जापानको कार्यक्रममा पनि आफ्ना धारणा राखेका थिए । उनी नयाँ शक्ति नेपालको प्रवासी संगठनको कार्यक्रममा भाग लिन जापान आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?