जापानी विदेश राज्यमन्त्री किसार्इ नेपाल जाँदै

जापान। जापानका विदेश राज्यमन्त्री नोबु किसाइ नेपालको तीनदिने औपचारिक भ्रमणमा  नेपाल जाँदै छन् ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा यही भदौ १६ गते नेपालमा आयोजना हुने विशेष समारोहमा भाग लिन उनी नेपाल जान लागेका हुन् ।

नेपाल सरकार र नेपालस्थित जापानी राजदूतावासले संयुक्त रुपमा आयोजना गर्ने उक्त समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल र राज्यमन्त्री किसाइले सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यद्यपि त्यसको निर्क्याेल भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राज्यमन्त्री किसाइको शिष्टाचार भेटबारे सम्माननीय राष्ट्रपति र सम्मानीय प्रधानमन्त्रीकाे कार्यालयमा पत्राचार गरिसकेकाे तर समय निर्धारण भइ नसकेको  परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले  बताएका छन् ।

उपप्रधानमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग पनि उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेकाे छ  ।

राज्यमन्त्री किसाइले नेपाल सरकारका उच्चपदस्थ अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?