जापानी सम्राट आकिहितोका रोचक तथ्यहरु

जापान ।जापानका सम्राट आकिहितोले गत सोमबार अत्यन्तै दुर्लभ मानिएको सार्वजनिक सम्बोधनमा पदत्याग गर्ने संकेत गरेका छन् । त्यसो भयो भने उनी जापानी राजतन्त्रको दुई सय वर्षयताको इतिहासमा पदत्याग गर्ने पहिलो राजा हुनेछन् ।

japan-emperor विश्वकै एक पुरानो राजतन्त्रबारे अमेरिकी अखबार न्युयोर्क टाईम्समा लेखक रसल गोल्डम्यानले प्रसुत गरेका  पाँच रोचक  तथ्य यहाँ प्रस्तुत गरिएको छ –
लामो इतिहास

जापानको राजतन्त्रले विश्व इतिहासमै सबैभन्दा लामो समयसम्म राज गरिरहेको छ । अकिहितो यस राजसंस्थाको १ सय २५ औं सम्राट् हुन् । यस राजसंस्थाको इतिहास ६ सय ईसापूर्वमा जापान देशको खोजसँग जोडिएको छ । जापानको खोज सम्राट जिम्मुले गरेका थिए । उनलाई सूर्य भगवान्को अवतारको रूपमा हेर्ने गरिन्छ । यद्यपि सुरुका २५ सम्राट्हरूको अस्तित्व कथामा सीमित छ । तर ऐतिहासिक प्रमाणका आधारमा भने सन् ५०० देखि मात्र जापानी राजसंस्थाको वंश अनवरत रहेको देखिन्छ ।

जापानी संस्कृतिका अनुसार तत्कालीन सम्राट्को मृत्यु भएसँगै उनीहरूको नाम उनीहरूले गरेको राज्यको युगलाई दर्साउने गरी परिवर्तन गरिन्छ । जसअनुसार अकिहितोको युगलाई ‘हाइसेई’ (सर्वत्र शान्ति) नामकरण गरिएको छ, जसको सुरुवात सन् १९८९ बाट भएको हो । उनको बुबा हिरोहितो युद्धकालीन समयका सम्राट् थिए । उनको युगलाई ‘सोवा’ (उज्ज्वल जापान) भनिन्छ ।
ईश्वर र मान्छे

जपानका सम्राट् राष्ट्रप्रमुखका साथै ‘सिन्तो धर्म’मा सर्वाधिक उच्चपदस्थ व्यक्ति पनि हुन् ।

जापान मात्रै यस्तो एउटा देश हो जहाँ अहिले पनि राजालाई सम्राट् भन्ने गरिन्छ । जापानी भाषामा सम्राट्लाई ‘टेन्नो’ भनिन्छ । जसको अर्थ भगवान्को अवतार– जो दैविक रूपमा सार्वभौमसम्पन्न छ भन्ने हुन्छ । जापानी राजसंस्थाले सांस्कृतिक रूपमै राज्य गर्ने अधिकार प्राप्त गरेको छ । तर केही शताब्दीयता भने सम्राट्लाई पूर्णभगवान्बाट आधी भगवान् र आधी मानवको रूपमा हेर्दै पहिलेको आदर– सत्कारमा केही कमी आएको छ ।

जापानको हारसँगै अन्त्य भएको दोस्रो विश्वयुद्धलगत्तै तत्कालीन सम्राट् हितोहितोले ‘सम्राट् भगवान्को अवतार भएको व्याख्या गलत रहेको’ बताएका थिए । विश्वयुद्धपछि १९४७ मा बनेको संविधानले सम्राटको राजनीतिक शक्तिको कटौती गरेको थियो । त्यसपछि सम्राट् जनताको एकता तथा राज्यको प्रतीकका रूपमा मात्रै सीमित छन् ।
सिकारु वैज्ञानिक

सम्राट मेइजीले १८६९ मा जापानको आधुनिकीकरण र औद्योगीकरण सुरु गरेका थिए । त्यसपछि उनले जापानको विकासलाई नयाँ मार्गनिर्देश दिँदै विभिन्न वैज्ञानिक प्रवचनहरू दिएका थिए ।

हिरोहितो र उनको जेठो छोरा अकिहितोको रुचि भने सामुद्रिक जीवविज्ञानमा थियो । हिरोहितोले समुद्रमा पाइने जेली फिससँग सम्बन्धित ‘हाइड्रोजोवा’का बारेमा अनेकौं वैज्ञानिक लेखहरू पनि लेखेका छन् । यस्तै अकिहितोलाई ‘गोबी फिस’को विज्ञ मान्ने गरिन्छ ।

अकिहितोले सो माछासँग सम्बन्धित ३८ वटा वैज्ञानिक लेखहरू लेखेका छन् भने नयाँ पत्ता लागेको माछालाई उनको नाम दिइएको छ ।
महिला शक्ति

जापानको गद्दीमा महिला पनि आसीन भएर राज्य सञ्चालन गर्न पाउँछन् । तर हालसम्म जम्मा आठजना मात्रै महिला गद्दीमा आसीन भएका छन् । २० औं शताब्दीपूर्व जापानको सम्राट्को एक मुख्य रानी हुन्थिन् भने अन्य थुप्रै रखैलहरू हुन्थे । ती सबै कुलीन घरानियाँका हुन्थे ।

अकिहितो पहिलो सम्राट् हुन् जसलाई साधाराण महिलालाई बिहे गर्ने अनुमति दिइयो । अकिहितोले मिचिको सोडालाई १९५६ मा एक टेनिस कोर्टमा भेटेका थिए ।

अकिहितोको जेठा छोरा युवराज नारुहितोले पनि साधारण महिलासँग नै बिहे गरेका हुन् । युवराज्ञी मासाको ओवादा पेसाले कूटनीतिज्ञ थिइन् । युवराज्ञी ओवादाको २००६ मा मानसिक सन्तुलन ठीक नभएको पाइएको थियो । वंश चलाउनका लागि छोरा जन्माउन अत्यधिक दबाब भएकै कारण उनले मानसिक सन्तुलन गुमाएको बताइएको छ ।
गोदावरी फूलको गद्दी

सम्राट अकिहितो र उनको परिवार राजधानी टोकियोस्थित इम्पेरियल प्यालेसमा बस्छन् । जसको परिसर सुन्दर पार्कजस्तै छ । यो दरबार भएको जग्गालाई विश्वकै एक सबैभन्दा महँगो मानिन्छ ।

दरबार परिसरमा राजपरिवारको बस्ने घरहरूदेखि कार्यालय र संग्रहालय छन् । जापानमा राजसंस्थालाई गोदावरी फूलको गद्दीमा आसीन सत्ताको संज्ञा दिने गरिन्छ । त्यहाँका सम्राट् राज्यारोहणको बेला गोदावरी फूलको आकारमा भएको गद्दीमा आसीन हुने गर्छन् । उक्त गद्दीलाई ताकामिकुरा भनिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?