जापानी सम्राटद्वारा सिंहासन परित्याग गर्ने सङ्केत (भिडियो सहित)

टोकियो । वर्तमान जापानी सम्राट आकिहितोले आज आमजनताका नाममा एक भिडियो सन्देश प्रसारण गर्दै आफ्नो बिग्रदो स्वास्थ स्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
क्षीण हुँदै  गएको जर्जर शरीर र दुर्वलताका कारण राष्ट्रको प्रतीक राजसिंहासनको कर्तव्य निर्वाह गर्न सम्भव नभई गद्दी परित्याग गर्नसक्ने समेत उहाँले सङ्केत दिनुभएको छ ।

japan-emperor

सो भिडियो सन्देशमा ८२ वर्षीय सम्राटले ‘पहिलाजस्तो आफ्नो कर्तव्य निर्वाह पूरा गर्न अव मेरो स्वास्थस्थिति अनुकूल भएन, तसर्थ जनताको आस्थाको केन्द्र रहेको राजसिंहासनको दायित्व र मर्ममा कटौती गरेर बसिरहन सुहाउँदैन’ भन्ने उल्लेख छ ।

सम्राट अकिहितोको खस्कँदो स्वास्थस्थिति र आफ्ना उत्तराधिकारी ५६ वर्षीय युवराज नारुहितोलाई गद्दी सुम्पिनेबारे गत महिनादेखि स्थानीय जापानी सञ्चार माध्यममा विभिन्न अड्कलबाजीका समाचार आइरहेका बखत राजप्रासादबाट दश मिनेट लामो सो सन्देश आज बिहान सार्वजनिक भएको थियो ।

यसैबीच, प्रधानमन्त्री सिन्जो आबेले विज्ञप्ति प्रकाशित गरी सम्राटको सन्देश आएको लगत्तै त्यस उपर एक टिप्पणी गर्नुभएको छ । सम्राट्को बिग्रदो शारीरिक अवस्था, बढ्दो उमेर र उहाँले निर्वाह गर्नुपर्ने कर्तव्यलाई ध्यानमा राखी आफू चिन्तित भएको र राज्यले सम्राटको हितका लागि के सहयोग गर्नसक्छ सो बारे गम्भीरतापूर्वक विचार गरिने कुरा सो टिप्पणीमा निहित छ ।

https://youtu.be/GZr7IT29jmI

स्थानीय समाचार माध्यमका अनुसार सम्राट जीवित छँदै सिंहासान परित्याग गरी उत्तराधिकारीलाई सुम्पिन केही अप्ठ्याराहरु छन् । सन् १९४७ मा जापानमा लागू भई हालसम्म विद्यमान रहेको राजप्रासाद सम्बन्धी ऐन (इम्पेरियल हाउस ले) मा गद्दिनसिन सम्राट्ले सिंहासन परित्याग गरी उत्तराधिकारीलाई सुम्पिने प्रावधान नै छैन् ।

तसर्थ यस ऐनमा संशोधन नगरी सम्राट आकिहितोको गद्दी त्याग गरी उत्तराधिकारीलाई सुम्पिने इच्छा पूरा गर्न कानुनतः बाधा पर्छ । कानुनविज्ञहरुको एक समूह गठन गरी त्यसले औपचारिक परामर्श दिएपछि मात्र ऐनमा संशोधन, फेरबदल गर्न सकिन्छ र पहिलेका उदाहरण अनुसार यस्तो प्रक्रियामा वर्षौं पनि लाग्नसक्छ ।

यी सबै परिदृश्यहरु विचार गर्दा सम्राट्द्वारा सार्वजनिक गरिएको भिडियो सन्देशले सर्वसाधारण जापानी जनतामाझ खैलाबैला मच्चिने र वुद्धिजीवीबीच चर्को बहस हुने स्थिति पैदा भएको भनी जापानी क्योदो समाचार एजेन्सीले ठम्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?