नेपाल फेस्टिवल आयोजक समितिले ३ तारिकमा अन्तिम ब्रिफिङ गर्ने

जापान । नेपाल फेस्टिबल मूल आयोजक समितिले अगस्ट तीन तारिकका दिन अन्तिम ब्रिफिङ गर्ने भएको छ । समितिले फेस्टिवलको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको जनाउँदै तीन तारिकका दिन तयारी बारेमा जानकारी गराउन लागेको हो ।

अगस्ट ६ र ७ तारिकका दिन जापानको टोकियोस्थित योयोगी पार्कमा नेपाल फेस्टिवलको आयोजना हुँदै छ । फेस्टिवलको सम्पुर्ण तयारी लगभग पुरा भएको आयोजक समितिका संयोजक एवं एनआरएन जापानका अध्यक्ष सुदन थापाले जानकारी दिएका छन् ।

समारोह मुल आयोजक समिति र समिति अन्तरगतका उप समितिहरुले लिएको जिम्मेवारीहरु समेत लगभग पुरा भैसकेको र केही प्राविधिक कामहरु बाँकी रहेको संयोजक थापाले बताए ।

फेस्टिवलको तयारीका बारेमा जापानमा रहेका सम्पुर्ण नेपालीहरुलाई जानकारी गराउने उद्देश्यले ब्रिफिङ कार्यक्रमको आयोजना गरिएको हो । थापाले उक्त कार्यक्रममा जापानमा क्रियाशिल सम्पुर्ण राजनीतिक दलका संगठनहरु, जनजाती महासंघ, पत्रकार महासंघ, विभिन्न वर्गीय संगठनहरु र जापानमा रहेका नेपाली समुदायलाई आग्रह गरेका छन् ।

तीन तारिकका दिन दिउँसो तीन बजेदेखि पाँच बजेसम्म नमस्ते गजल रेष्टुरेण्टमा कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा सहभागि हुन चाहनेले ०८०-९६४७-२१२१ र ०९०-९३९५-१८४३ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

यसैबीच आयोजकले जापानमा रहेका सम्पुर्ण नेपालीहरु र संघसंस्थाहरुलाई फेस्टिवलका लागि आर्थिक सहयोग गर्न पनि अपिल गरेको छ । नेपाल–जापानबीच मैत्रिपुर्ण सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसरमा आयोजना गर्न लागिएको फेस्टिवल विशेष बनाउनका लागि सहयोग गर्न अपिल गरिएको हो ।

आर्थिक सहयोग गर्नेहरुलाई फेस्टिवलमा सम्मान गरिने एनआरएन जापानका महासचिव अनुज थापाले बताए । सहयोगका लागि खाता नम्वर १००१०-५२३७०३६१ मा रकम जम्मा गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?