नेपाल–जापान मैत्रिपूर्ण सम्बन्धको ६० औं वर्षगाँठको अवसरमा सांगीतिक कार्यक्रम सम्पन्न

Japan programmeविरेन केसी/सिजुओका । नेपाल र जापानबीच मैत्रिपूर्ण सम्बन्ध स्थापना भएको ६० औं वर्ष पुगेको अवसरमा जापानको सिजुओकामा भव्य सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।

सिजुओकामा रहेका नेपालीहरुको संस्था नमस्ते नेपाल सिजुओका तथा सान्तारो खागोरा नामक जापानी सांगीतिक समूहको संयुक्त आयोजनामा आइतबार आयोजित कार्यक्रममा पञ्च लामा तथा उनको समुह चौतारीको बिशेष सांगीतिक प्रस्तुति रहेको थियो ।Japan programme 1

लामा र उनको समूहले करिब २ घण्टा विभिन्न लोकप्रिय नेपाली धुनहरु बजाएर मनोरञ्जन प्रदान गरेका थिए । हिमाली याक नाच, रेशम फिरीरी जस्ता गीतको धुनमा उपस्थित जापानी तथा नेपालीहरु रमाएका थिए ।

यसैगरी जापानी परम्परागत नाचको समूह एडो दाइकोगुराले करिब १ घण्टा आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो ।

सिजुओकामा रहेको सिमिन बुन्खा खाइखानमा आयोजित कार्यक्रममा बोल्दै जापानका लागि कार्यबहाक नेपाली रादूत गेहेन्द्र राजभण्डारीले जापान र नेपालको दौत्य सम्बन्ध मजबुत रहेको बताउँदै यस किसिमका कार्यक्रमले दुई देशबीचको सांस्कृतिक आदानप्रदानमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरे ।Japan programme 3

नेपालमा गत वर्ष गएको विनासकारी भूकम्पपछि जापानीले गरेको सहयोगप्रति उनले आभार प्रकट गरे ।

त्यसैगरी सिजुओकाका मेयर तानबे नोबुहिरोले दुई देशबीचको सम्बन्धलाई सांस्कृतिक आदानप्रदान, शिक्षा, कला, भाषा जस्ता विषयले अझ गहिरो बनाउने बताए ।

असल मित्र राष्ट्रले आफ्नो मित्र राष्ट्रलाई परेको दुस्खमा सहयोग गर्नु सबैभन्दा महत्वपूर्ण विषय रहेको बताउँदै नेपाल र जापानमा गएको भूकम्पपछि दुईदेशका नागरिकले स्वतस्फुर्त सहयोग आदानप्रदान गरेको स्मरण गरे ।Japan programme 4

नेपालमा गत वर्ष गएको शक्तिशाली भूकम्पपछि जापान र जापानी नागरिकले गरेको गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्न तथा दुई देश बीचको मैत्रिपूर्ण सम्बन्धको दिगोपना, दुई देशबीचको कला संस्कृतिको आदन प्रदानका लागि गरिएको कार्यक्रम उद्देश्यअनुसार सफल भएको नमस्ते नेपाल सिजुओका संयोजक नरेश महर्जनले बताए ।

निशुल्क प्रवेशको व्यवस्था रहेको कार्यक्रममा जापानी नागरिक तथा नेपालीहरुको बाक्लो उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?