
टाेकियाे । जापानको कोबेस्थित सुमादेरा मन्दिरले नेपालको स्वयम्भूनाथ मन्दिर जस्तै नयाँ मन्दिरको निर्माण गरेको छ ।
नेपालमा गत बैशाख १२ गते विनाशकारी भूकम्प गएको एक वर्षपुगेसँगै जापानको कोबे सहरमा एक भव्य कार्यक्रमकाबीच सो मन्दिरको भव्य उद्घाटन हुनेछ ।
महाभूकम्पका कारण नेपाल र नेपालीले भोगेको असह्य दुःखमा मलम लगाउने र दुई देशको मित्रता बढाउने उद्देश्यले मन्दिरको स्थापना गरिएको हो ।
एनआरएनका पूर्वअध्यक्ष तथा ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष देवमान हिराचनको पहलमा त्यस मन्दिरको काम अघि बढेको थियो ।
जापानको कोबे सहरमा १९९५ जनवरी १७ मा ६.९ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । ६ हजार ४ सयभन्दा बढी मानिसको मृत्यु र पूरा कोबे सहरमा ठूलो क्षति पुगेको थियो ।
उक्त भूकम्पमा परी अन्य १४ हजार भन्दा बढी घाइते भएका थिए भने १ लाख २० भौतिक संरचना पूर्ण रुपमा क्षतिग्रस्त बन्न पुगेका थिए ।
त्यसबेला हिराचनले नेपाल आएर बुद्धिस्ट लामाहरुसँग सल्लाह गरेर यस्तो दुःखबाट छुटकारा पाउन केही गर्न सकिन्छ कि भनेर सोध्दा बालुवा (स्याण्ड) मण्डला लेखेर पूजा गर्यो भने मृतकहरु स्वर्ग जाने, दुःख पाएका मानिस छिट्टै दुःखबाट हट्न सकिने, कोबे र जापानको पनि छिट्टै सुधार गर्न सकिन्छ भन्ने कुरा सुनेपछि हिराचनले नेपालबाट ६ जना लामाहरुलाई आफ्नै निजी खर्चबाट जापान लगेका थिए ।
र सो सुमादेरा मन्दिरमा पूजा सुरु भएको थियो । त्यस पूजामा हजारौं कोबेबासी र अरु जापानी सहभागी भएका थिए । पूजालगत्तै सुमादेरा मन्दिरको एक समूह नेपाल आएर नमूना बुद्धिस्ट स्कुल पोखरामा स्थापना गरेको थियो ।
सुमादेरा प्रमुख कोइके कुउसानले नेपाल र जापानबीचको सम्बनधलाई बढाउँदै नेपालको पर्यटन विकासमा आफ्नो सक्दो सहयोग रहने पनि बताए ।