हिरोसिमा भ्रमण गर्ने जोन केरी सबैभन्दा उच्च अमेरिकी अधिकारी

John_kerryटोकियो । आगामी साता जापानमा हुने जी–७ का विदेशमन्त्रीहरुको सम्मेलनका क्रममा अमेरिकी विदेशमन्त्री जोन केरी सहित सातवटै देशका विदेशमन्त्रीहरुले हिरोसिमाको भ्रमण गर्दैछन् ।

जापानी विदेशमन्त्री फुमियो किशिदा तथा अमेरिकी विदेशमन्त्री जोनकेरीसँगै बेलायत, क्यानडा, फ्रान्स, जर्मनी र इटालीका विदेशमन्त्रीहरुले अप्रिल ११ तारिखका दिन हिरोसिमामा रहेको ‘पिस मेमोरिल पार्क’ र संग्रहालयको भ्रमण गर्दैछन् ।

जोन केरी दोस्रो विश्वयुद्धपछि हिरोसिमाको भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी अधिकारी हुनेछन् ।

दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले ६ अगस्ट १९४५ मा हिरोसिमामा गराएको शक्तिशाली परमाणु बम विस्फोटमा १ लाख ४० हजार जापानीले ज्यान गुमाएका थिए ।

अमेरिकाले परमाणु बम खसालेको ७१ वर्षपछि अमेरिकाका उच्च अधिकारीले पहिलोपटक हिरोसिमा भ्रमण गर्न लागेका हुन् । उनले ‘पिस मेमोरियल पार्क’ मा मृतकहरुको सम्झनामा पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम समेत रहेको छ ।

जापानमा हुने जी–७ का विदेशमन्त्रीहरुको बैठकमा आतंकवाद, समुद्री सुरक्षा र परमाणु अप्रसारलगायतका विषयमा छलफल हुनुअघि उनीहरुले हिरोसिमाको भ्रमण गर्नेछन् ।

नोबेल शान्ति पुरस्कारसमेत जितेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले संसारलाई परमाणु हतियारमुक्त बनाउने बताउँदै आएका छन् । तर जी–७ भित्र नै परमाणु हतियारका विषयलाई लिएर विवाद रहेको छ ।

अझैपनि जी–७ भित्रका अमेरिका, फ्रान्स र बेलायतसँग परमाणु हतियार रहेको छ ।

हिरोसिमाका मेयर काजुमी मात्सुईले जी–७ का विदेशमन्त्रीहरुको भ्रमण परमाणु बमबारीको वास्तविकता देखाउने सुनौलो अवसर भएको बताएका छन् ।

जापानी अधिकारीहरुले विदेशमन्त्रीहरुको यो सामूहिक भ्रमणले आगामी मे महिनामा हुने जी–७ राष्ट्रहरुको शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई समेत यो क्षेत्रको भ्रमणमा जान मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?