जापान र जापानीबाट नेपालीले सिक्नै पर्ने पाठ

nabin-niure-nepal-japan-nrnनविन निउरे

भूकम्पको देश भनेर चिनिने संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहेको विकसित मुलुक जापान आउन चाहने मानिसहरु अधिक छन् ।

विकसित राष्ट्रको विकसित शैक्षिक प्रणाली, सामूहिक संकल्प, समयको सही प्रयोग, ऐतिहासिक उतार–चडाव, संघर्षशील जीवनयापन, अनुशासन, कामप्रतिको लगाव, राजनीतिक चेतना र साँस्कृतिक विशेषता यहाँबाट सिक्नुपर्ने महत्वपूर्ण पक्ष हुन् ।

यति मात्रै होइन मेहनती हातहरुले समृद्ध बनेको जापानबाट नेपालीले सिक्नैपर्ने धेरै पाठहरु छन् । विशेषत यहाँको काम गर्ने तौरतरिका नेपालीको भन्दा आकाश–पातालको फरक भेट्न सक्छौं ।

परिश्रमको प्रतिफल नै विकासको चरमचुलीमा पुर्याउने कडी हो भन्ने जापान र जापानीहरुले प्रमाणित गरिदिएका छन् ।

जापानीहरुको दैनिकी हेर्दा अति नै दया पलाउने खालको भेटिन्छ । यस्तो लाग्छ, ‘हार्ड लेवर’ गरेर नै जापानीहरुले विकासको शिखर चुमेका हुन् । नेपालको भन्दा फरक जापानका केही रोचक र शिक्षा लिन सकिने दैनिकीहरु बारे यहाँ चर्चा गर्दा उपयुक्त होला ।

संस्कार र संस्कृति
जापानीहरु धर्म–कर्ममा विश्वास राख्छन् र नेपालमा जस्तै भुतप्रेतजस्ता अन्धविश्वासमा समेत विश्वास गर्छन् । बौद्ध धर्मावलम्बी अधिक रहेपनि यहाँ मानिसलाई बुद्ध भारतमा जन्मिएको भन्ने भ्रम अझै छ । जापानमा धार्मिक आस्थाका धरोहर मठ–मन्दिर, चैत्य, गुम्बाहरु प्रसस्तै देख्न सकिन्छ ।

आफूभन्दा साना र ठूलालाई सम्मान र माया दिने–लिने गर्नुपर्छ भन्ने नेपालीहरुको परापूर्वकाल देखिको सांस्कारिक चेतना हामी जापानमा पनि पाउँछौं । पृथक बोलीचाली र प्रस्तुती तथा सहयोगी भावना जापान नबिर्साउने मुख्य पाटो हो ।

राजनीतिक पक्ष

नेपाल र जापानको राजनीतिक संरचना सामान्यतया मिल्दोजुल्दो छ । तर, यत्ति हो की नेपाली राजनीतिक संरचना भद्रगोल छ जापानको सुव्यवस्थित । चुनावताका होस् वा राजनीतिक उतार–चडावका बेला होस्, जापानी सडकमा कहिल्यै टायर बल्दैन । विरोधका जुलुसहरु निकाल्दा जनतालाई असर नपर्ने गरी गर्छन् ।

रोचक त रेल स्टेशनजस्ता मानिसका भीड हुने ठाउँमा कुनै एक कुनाबाट चुनावका बेला र बिशेष सन्देश प्रवाह गर्नु परेमा माइक लिएर कुनै एक कुनामा बसेर भाषणबाजी गर्ने गर्छन् । भाषण र प्रचार–प्रसार गर्न नेपालमा जस्तो खुलामञ्च ताक्दैनन् । नेपालमा जस्तो रोड बन्द गरेर जुलुस निकाल्दैनन् ।

कसैले सुनोस वा नसुनोस रेल स्टेशनमा एकोहोरो चुनावी प्रचार गर्ने गर्छन् । जापानमा सरकार बन्दा र भत्किदा साधारण नागरिकलाई कुनै प्रकारको असर परेको महशुस हुदैन । केवल राजनीतिक वृतमा मात्रै हल्लाखल्ला हुने गर्छ ।

समयको महत्व

कुनैपनि राष्ट्र विकासको चरमचुलीमा पुग्न समयको गतिसँग पैठोजोरी खेल्नै पर्छ । तोकिएको समय सीमा भित्र काम गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको जापानीहरुमा घडीको सुईका हरेक सेकेन्डलाई महत्व दिन्छन् । समयलाई आफ्नो वसमा पारेर काम गर्ने कलाले नै जापान विकसित राष्ट्रको दाजोमा पुगेको बुझ्न कठिन छैन ।

आवतजावतका साधन, कम्पनी, स्कुल लगायत सबै क्षेत्रमा समयको पावन्दी हुन्छ । निर्धारित समयसीमाभित्र गर्न नसके त्यसदिन खेर समेत जाने हुनाले समयको रफ्तारमा चल्नुलाई जापानीहरुले गम्भीरताका साथ लिन्छन् । सुनामीले अस्तव्यस्त भएको जापान निश्चित समयसीमाभित्र जस्ताको त्यस्तै बनाउनुले समयमा काम सक्नु उनीहरुको अभिष्ट नै भएको प्रष्ट छ ।

धनी देशका गरिव नागरिक
धनी राष्ट्रमा गरिव नागरिक नै हुँदैन भन्ने हाम्रो सामान्य बुझाइलाई भने जापानको अवस्थाले उल्टाइदिन्छ । तर, सत्य यही हो की नेपालका सडकमा जस्तै जापानका रेल स्टेशन वरिपरी पनि मगन्तेहरु भेटिन्छन् । दैनिक परिश्रम नगरे दैनिक खान नपुग्ने परिवार जापानमा प्रसस्तै देख्न सकिन्छ । राम्रा पक्ष धेरै हुँदाहुँदै पनि एकान्तपनले गाँजेको देखिन्छ ।

समाजको लागि योगदान दिएपनि व्यक्तिगत जीवनमा आत्मकेन्द्रीत मनोभावना ज्यादा देखिन्छ । धित् खोलेर साथीसंगीसँग बसेर दुःख सुख खोल्ने परिपाटी खासै भेटिन्न भने संगै भेटेर घुम्ने, खेल्ने गरेतापनि गोपनियता धेरै मन पराउने जीवन शैलीले धुम्रपान, मध्यपान या जुवाघरको लत बसेको भेटिन्छ ।

शैक्षिक प्रणाली
अन्य राष्ट्रबाट उच्च शिक्षा लिन जापान आउने अधिक छन् । यहाँको शैक्षिक नीति प्रष्ट छ । पूर्वाधार सहितको अध्यापन गराउने हुदा व्यवस्थित शिक्षा प्रणाली सवल पाटा हुन् । तर, जापानीहरु उच्च शिक्षा लिनबाट वञ्चित भएका कैयौं छन् ।

आर्थिक स्तर कमजोर रहेकै कारण अध्ययन नगरेको गुनासोहरु जापानीबाटै सुनिन्छ । छात्रवृत्तिबारे केही जापानीहरु अनविज्ञता प्रकट गर्ने गर्छन भने अन्य देशबाट जापान आई अध्ययन गर्नेहरु खोजी खोजी छात्रवृत्तिमा पढिरहेका हुन्छन् । केही त्यस्ता छन् जसले काम गरेर दैनिकी चलाउनुलाई जीवन ठान्छन् र आफ्ना पढाईलाई बिट मार्ने काम गर्छन् र, काममा रमाउँछन् ।

अन्तमा, यो धेरैले थाहा पाएको, बुझेको तर मनन गर्न नसकेको यथार्थ हो । त्यसमाथि पनि विभिन्न सिलसिलामा जापान आएकाहरुलाई यी धेरै कुरा थाहा छ कि यस्ता धेरै शिक्षा जापान र जापानीहरुबाट लिन सकिन्छ । जापानबाट नकारात्मक भन्दा सकारात्मक सन्देश बढ्ता लिन सकिन्छ ।

जीवन संघर्षको वास्तविक दिनहरु र तत्पश्चातका दिनहरुको कल्पना गर्न जापानको वातावरणले उर्जा थपिदिन्छ । सपनाको घर बनाउनेहरुलाई सचेत गराउँछ । वास्तविक जीवनलाई स्पातिलो बनाउन मद्दत पुर्याउछ ।

कठोर जीवनयापन गर्ने कला सिकाउनुको साथै काम नगर्नेहरुलाई जाँगरिलो बनाउँछ । कमजोर मानसिकतामा रहेकाहरुलाई आत्मबल थपिदिन्छ साथै जापानले संघर्षको अर्को नाम जीवन हो भन्ने पाठ सिकाउँछ भन्दा फरक पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?